बाँकेको जानकी गाउँपालिकाले घरभित्रको धुवाँबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरण तथा दाउराको खपत घटाउने उद्देश्यले पालिकाभित्रका लक्षित परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण सुरु गरेको छ ।
हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, जानकी गाउँपालिका र उपभोक्ताको लागत साझेदारीमा सञ्चालित कार्यक्रमअन्तर्गत पहिलो चरणमा वडा नम्बर २ र ३ का २९० घरपरिवारलाई चुलो वितरण गरिएको छ । गाउँपालिकाले आगामी दिनमा थप घरधुरी समेट्दै ७६७ परिवारलाई चुलो वितरण गर्ने लक्ष्य लिएको जनाएको छ ।
कार्यक्रमका लागि गाउँपालिकाले ६ लाख ९० हजार ३०० रुपियाँ र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ३६ लाख ८१ हजार ६०० रुपियाँ साझेदारी गरेका छन् । कुल लागतमा हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ४०–४० प्रतिशत, गाउँपालिकाको १५ प्रतिशत र उपभोक्ताको ५ प्रतिशत लागत साझेदारी रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले सुधारिएको चुलोले घरभित्रको वायु प्रदूषण घटाउनुका साथै दाउराको खपत, समय र श्रम बचत गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार धुवाँ कम हुँदा दम, खोकी, श्वासप्रश्वास तथा आँखा र फोक्सोसँग सम्बन्धित स्वास्थ्य समस्याको जोखिमसमेत घटाउन मद्दत पुग्नेछ ।
चुलो पाएपछि स्थानीय गृहिणीहरू निकै उत्साहित भएका छन् । वडा नम्बर २ नयाँ गाउँकी स्थानीय नुरबानो खाँले थोरै दाउरामा छिटो खाना पकाउन सकिने भएकाले समय र दाउरा दुवै बचत भएको बताउनुभयो ।
यस्तै सोही ठाउँकी अर्की गृहिणी माया थापाले यो चुलो पाएपछि खाना पकाउन सहज हुनुका साथै सुरक्षित समेत भएको अनुभव गरेको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले पहिलो चरणमा २९० परिवारलाई चुलो वितरण गरिएको जानकारी दिँदै पालिकाभित्रका लक्षित सबै घरधुरीसम्म कार्यक्रम विस्तार गरिने बताउनुभयो । उहाँले सुधारिएको चुलोको प्रयोगले स्वास्थ्य र वातावरण संरक्षणसँगै परिवारको आर्थिक भारसमेत घटाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
चुलो वितरण कार्यक्रमहरुमा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहने गरेको छ । गाउँपालिकाले सुधारिएको चुलो वितरणलाई नागरिकको स्वास्थ्य संरक्षण, स्वच्छ ऊर्जा प्रवर्द्धन, दाउरा खपत न्यूनीकरण र वातावरण संरक्षणसँग जोडिएको अभियानका रूपमा अघि बढाएको जनाएको छ ।






















