२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार
खजुराका विद्यालयहरू ‘टिनको छानामुक्त’ बन्दैः
  • न्युज डेस्क

    २६ आश्विन २०८३, सोमबार

​बाँकेको खजुरा गाउँपालिकाले अंगीकार गरेको “सामुदायिक विद्यालयहरूलाई टिनको छानामुक्त बनाउने अभियान” पूरा हुने दिशामा अघि बढेको छ। यसै अभियान अन्तर्गत खजुरा गाउँपालिका वडा नं. ३, ‘क’ गाउँस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा ३ कोठे नयाँ पक्की भवन र २ कोठे बालमैत्री शौचालयको शिलान्यास गरिएको छ।

​सोमबार आयोजित एक विशेष समारोहका बिच खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक ‘तुफान’ र उपाध्यक्ष मञ्जु मल्लको उपस्थितिमा नयाँ संरचनाको जग पूजा (शिलान्यास) सम्पन्न भएको हो। बिल्ड अन नेपाल, खजुरा गाउँपालिका र स्थानीय जनसमुदायको त्रिपक्षीय साझेदारीमा उक्त भवन निर्माण हुन लागेको हो।

​कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले गाउँपालिकाको विकासमा स्थानीय समुदाय र विकास साझेदारहरूको भूमिका प्रशंसनीय रहेको बताउनुभयो।

​”विद्यालयको भौतिक पूर्वाधार सुधार हुनु भनेको हाम्रा बालबालिकाको सुनौलो भविष्यको ढोका खुल्नु हो,” उपाध्यक्ष मल्लले भन्नुभयो, “बिल्ड अन नेपालसँगको साझेदारी र स्थानीय अभिभावकहरूको श्रमदान तथा अपनत्वले योजना समयमै र गुणस्तरीय रूपमा सम्पन्न हुने विश्वास लिएका छौँ। पालिकाले शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई सधैँ प्राथमिकतामा राखेर काम गरिरहेको छ।”

​कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक ‘तुफान’ले खजुराका कुनै पनि बालबालिकाले अब जिर्ण र गर्मी गराउने टिनको छानामुनि बसेर पढ्नु नपर्ने बताउनुभयो।

​”हामीले खजुराका सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई टिनको छानामुक्त बनाउने र सुरक्षित, बालमैत्री तथा गुणस्तरीय भौतिक पूर्वाधार तयार पार्ने अठोट गरेका थियौँ। आज त्यो अभियान लगभग पूरा हुने चरणमा पुगेको छ,” अध्यक्ष तुफानले भन्नुभयो।

​लामो समयदेखि जिर्ण संरचना र टिनको छाप्रोमा पठनपाठन गराउन बाध्य विद्यालय परिवार तथा अभिभावकहरू नयाँ पक्की भवन बन्ने भएपछि निकै उत्साहित बनेका छन्। शिलान्याससँगै निर्माण कार्य तीव्र रूपमा अघि बढ्ने र तोकिएकै समयभित्र गुणस्तरीय भवन निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरिने आयोजक पक्षले जनाएको छ।

  • २६ आश्विन २०८३, सोमबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२