गुलरिया, बर्दिया । विपद् जोखिम बीमा सञ्चालन कार्यविधि निर्माणका लागि प्रारम्भिक कार्यशाला गोष्ठी बर्दियाको गुलरिया नगरपालिकामा सम्पन्न भएको छ।गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यशाला बी ग्रुपको सहयोगमा आयोजना गरिएको हो।
विपद्का कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्ने, विपद् प्रभावित नागरिकलाई आर्थिक सुरक्षाको दायरामा ल्याउने तथा विपद्पछिको पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले विपद् जोखिम बीमा सञ्चालन कार्यविधि निर्माणको प्रक्रिया अघि बढाइएको हो।

कार्यशालामा विपद् जोखिम बीमालाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक नीतिगत व्यवस्था, कार्यविधिको आवश्यकता र यसको कार्यान्वयनका विषयमा प्रारम्भिक छलफल गरिएको थियो। विपद्को जोखिममा रहेका नागरिक तथा समुदायलाई बीमाको पहुँचमा ल्याउन सके विपद्का कारण उत्पन्न हुने आर्थिक भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विपद् जोखिम बीमा सञ्चालनका लागि स्पष्ट कार्यविधि निर्माण भएमा बीमा कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। कार्यविधि निर्माणमार्फत विपद् जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा विपद् प्रभावित नागरिकको आर्थिक सुरक्षामा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
कार्यशालाबाट प्राप्त सुझाव तथा छलफलका आधारमा विपद् जोखिम बीमा सञ्चालन कार्यविधि निर्माणको प्रक्रियालाई अघि बढाइनेछ।





















