(नेपालगंन्ज )
राष्ट्रिय दलित कर्मचारी समाज बाकेको प्रथम जिल्ला अधिवेशनबाट हुर्मत बिकको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ।
समितिको उपाध्यक्षमा सुजन ददेल, सचिवमा दिलबहादुर बिक, सहसचिवमा आशा सार्की र कोषाध्यक्षमा नरेन्द्र बिक चयन भएका छन्। अधिवेशनमा जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत दलित कर्मचारीहरूको सहभागिता रहेको थियो।
राष्ट्रिय दलित कर्मचारी समाज जिल्ला तदर्थ समिति बाकेको आयोजनामा नेपालगन्जमा विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदानसहित अधिवेशन सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि समाजका केन्द्रीय अध्यक्ष जयबहादुर बिकले कानुनले दलित कर्मचारीको नियुक्ति र प्रतिनिधित्वमा अवसर सुनिश्चित गरे पनि उच्च तहमा पदोन्नति, नेतृत्वमा सहभागिता, कार्यस्थलमा सम्मान र विभेदमुक्त वातावरणका विषयमा अझै चुनौती रहेको बताए ।
दलित कर्मचारी उच्च पदमा पुगे पनि सामाजिक पूर्वाग्रह, तिरस्कार र अवसरमा असमानता भोग्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
राष्ट्रिय दलित कर्मचारी समाजका केन्द्रीय अध्यक्ष बिकका अनुसार दलित समुदायका युवालाई लोकसेवा आयोगको परीक्षामा सहभागी हुन प्रेरित गर्ने, तयारीका लागि सहयोग गर्ने र प्रशासनको उच्च तहसम्म पुग्ने वातावरण राज्यले निर्माण गर्नुपर्छ।उनले भने,‘दलित कर्मचारीको अधिकार संरक्षण, समान अवसर र कार्यस्थलमा हुने विभेद अन्त्यका लागि कानुनी व्यवस्थासंगै प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र संस्थागत सुधार आवश्यक देखिन्छ।’
केन्द्रीय सल्लाहकार चन्द्रबहादुर सुनारले दलित कर्मचारीले अझै विभेद र तिरस्कार भोग्नुपरेको बताए । सल्लाहकार समिति संयोजक हिमबहादुर सुनारले कर्मचारीबीच एकता र एकताबद्ध भावना विकास गर्नुपर्ने बताए।





















