२८ श्रावण २०८३, बिहीबार
२८ श्रावण २०८३, बिहीबार
क्यान्सर अस्पताल, खजुरा बाँके र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनबीच विशेषज्ञ मेडिकल अंकोलोजी सेवा तथा संस्थागत सहकार्यसम्बन्धी सम्झौता
  • न्युज डेस्क

    २८ श्रावण २०८३, बिहीबार

पश्चिम नेपालमा क्यान्सर उपचार सेवाको पहुँच विस्तार तथा विशेषज्ञ सेवा थप प्रभावकारी बनाउने उद्देश्यले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा–७ बाँके र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनबीच विशेषज्ञ मेडिकल अंकोलोजी सेवा तथा संस्थागत सहकार्यसम्बन्धी सम्झौता भएको छ।

२०८३ साल साउन २८ गते भएको सम्झौतामा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराई र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नि. कार्यकारी निर्देशक डा. उमेश नेपालले आ–आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरेका छन्।

डा. निरज भट्टराईको कुशल नेतृत्वमा सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको सेवा विस्तार, सुदृढीकरण तथा संस्थागत विकासको कार्य निरन्तर अगाडि बढिरहेको छ।

अस्पतालमा थप स्वास्थ्य सेवा विस्तारसँगै विभिन्न सरोकारवाला निकायबीचको समन्वय, सहकार्य र साझेदारीलाई प्रभावकारी बनाउँदै अस्पतालको समग्र विकास र स्तरोन्नतिका कामहरू अघि बढाइएका छन्।

पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय र सहज क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पतालको क्षमता विस्तार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ।

सम्झौताअनुसार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रत्येक महिना दुई दिन योग्य तथा सम्बन्धित क्षेत्रमा दर्ता/अनुमतिप्राप्त मेडिकल अंकोलोजिस्ट उपलब्ध गराउनेछ। यसबाट पश्चिम नेपालका क्यान्सर बिरामीले विशेषज्ञ चिकित्सकीय सेवा आफ्नै क्षेत्रमा प्राप्त गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।

विशेषज्ञ चिकित्सकले ओपीडी परामर्श, उपचार योजना निर्माण, किमोथेरापीको सुपरिवेक्षण, वार्ड राउन्ड, जटिल बिरामीको समीक्षा तथा आवश्यक विशेषज्ञ राय प्रदान गर्नेछन्। आवश्यकता अनुसार हेमाटो–अंकोलोजीलगायत सम्बन्धित विशेषज्ञ सेवा सञ्चालन तथा समन्वयसमेत गरिनेछ।

सम्झौताले विशेषज्ञ चिकित्सकीय सेवाका अतिरिक्त दुई अस्पतालबीच दीर्घकालीन प्राविधिक, शैक्षिक तथा संस्थागत सहकार्यलाई समेत प्राथमिकता दिएको छ। संयुक्त ट्युमर बोर्ड, टेलि–अंकोलोजी परामर्श, क्लिनिकल अनुसन्धान तथा नर्सिङ, प्राविधिक र प्यारामेडिकल जनशक्तिका लागि संयुक्त तालिम सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

सम्झौताअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विशेषज्ञ चिकित्सकका लागि आवश्यक ओपीडी कक्ष, क्लिनिकल पूर्वाधार, उपलब्ध मेडिकल उपकरण तथा सहयोगी जनशक्ति उपलब्ध गराउनेछ। साथै बिरामीको नाम दर्ता, प्रारम्भिक जाँच तथा आवश्यक रिपोर्ट र उपचारसम्बन्धी अभिलेख व्यवस्थित गर्ने जिम्मेवारीसमेत अस्पतालले लिनेछ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले तोकिएको मासिक दुई दिने सेवाका लागि दक्ष मेडिकल अंकोलोजिस्टको उपलब्धता सुनिश्चित गर्नेछ।

सम्झौतामा बिरामीको हित, सुरक्षा, मर्यादा र गोपनीयतालाई सर्वोच्च प्राथमिकता दिइएको छ। उपचारसम्बन्धी निर्णय चिकित्सकीय व्यावसायिक मापदण्ड, उपलब्ध प्रमाण, अस्पतालको स्वीकृत प्रोटोकल तथा बिरामीको सूचित सहमतिअनुसार गरिने उल्लेख छ। जटिल वा थप विशिष्ट उपचार आवश्यक पर्ने बिरामीलाई चिकित्सकीय आवश्यकता र बिरामीको हितअनुसार उपयुक्त विशेषज्ञ केन्द्रमा रेफर गर्न सकिने व्यवस्था पनि गरिएको छ।

सम्झौताको कार्यान्वयन तथा व्याख्याका क्रममा कुनै विवाद वा अस्पष्टता उत्पन्न भएमा दुवै संस्थाका कार्यकारी निर्देशक वा तोकिएका प्रमुखहरूबीच आपसी सद्भाव र वार्ताका माध्यमबाट समाधान गर्ने व्यवस्था गरिएको छ। आपसी सहमतिबाट समाधान हुन नसके प्रचलित कानून तथा सम्बन्धित निकायको अधिकारक्षेत्रअनुसार समाधान गरिनेछ।

सम्झौताको प्रमाणीकरणमा दुवै पक्षका विशेषज्ञ तथा प्रशासनिक अधिकारीहरू साक्षी बसेका छन्। सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका तर्फबाट डा. सुवास मेहता, विभागीय प्रमुख, पेडियाट्रिक अंकोलोजी तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट डा. गुरु शरण साह, विभागीय प्रमुख, मेडिकल अंकोलोजी साक्षी रहेका छन्। त्यसैगरी श्री गृहि महतो, वरिष्ठ प्रशासनिक अधिकृत पनि साक्षीका रूपमा रहेका छन्।

यो सम्झौता २०८३ साल साउन २८ गतेदेखि लागू भई एक वर्षसम्म कायम रहनेछ। दुवै पक्षको लिखित सहमतिमा सम्झौता नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

दुई विशिष्टीकृत क्यान्सर अस्पतालबीच भएको यो सहकार्यले पश्चिम नेपालका क्यान्सर बिरामीलाई विशेषज्ञ सेवा प्राप्त गर्न सहज बनाउने तथा क्यान्सर उपचारमा आवश्यक विशेषज्ञ जनशक्ति र ज्ञानको आदान–प्रदानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

  • २८ श्रावण २०८३, बिहीबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२