बर्दिया /असार ३२ : बढैयाताल गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ मा विनियोजित कुल बजेटको ६५.२ प्रतिशत खर्च गरेकोे छ। गाउँपालिकाले सार्वजनिक गरेको क्षेत्रगत बजेट तथा खर्च विवरण अनुसार कुल ९८ करोड ३४ लाख ६१ हजार ९४५ रुपैयाँ बजेटमध्ये ६४ करोड १२ लाख ७३ हजार ४४५ रुपैयाँ ६७ पैसा खर्च भएको छ भने ३४ करोड २१ लाख ८८ हजार ४९९ रुपैयाँ ३३ पैसा बजेट खर्च हुन बाँकी रहेको छ। क्षेत्रगत विवरणअनुसार आर्थिक विकास अन्तर्गत कृषि, उद्योग, पर्यटन, सहकारी भुमि व्यवस्थामा ६९ प्रतिशत खर्च गरेकोे गाउँपालिकाका प्रमुखप्रसासकिय अधिकृत अर्जुन थारुले जानकारी दिनुभयो। तीन करोड ५० लाख २६ हजार ७३५ रुपैया बजेटमध्ये २ करोड ४२ लाख ९६ हजार ३१४ रुपैया खर्च गरेको छ। त्यस्तै सामाजिक विकासअन्तरर्गत शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाइ, युवा तथा खेलकुद, लैगिक समानता तथा सामाजिक समावेशीकरणमा ८२.४४ प्रतिशत खर्च गरेकोे छ। विवरणअनुसार आपूर्ति, सम्पदा पूर्वाधार तथा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र मा भने बजेट खर्च हुन नसकेको देखिएको छ। पुर्वाधान विकासमा ४५.९८ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धि क्षेत्रमा २५. ०६ प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक ७३.७७ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन थारुले आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो।
आवाज गाउँपालिकाले सार्वजनिक सुनुवाइमार्फत बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गर्दै बाँकी रहेका कार्यक्रम तोकिएको समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। साथै विकास निर्माणका कार्यलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउँदै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न निरन्तर प्रयास भइरहेको गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताउनुभयो। सार्वजनिक सुनुवाइमा विकासका लागि हाम्रो प्रयास नेपाल बर्दियाको अध्यक्ष मेनका चौधरी ले कार्यक्रमकाे सहजीकरण गर्नु भएको थियो ।बढैयाताल गाउँपालिकाले आयोजना उक्त कार्यक्रम गरेकोथियो। कार्यक्रममा प्रस्तुत नागरिक प्रतिवेदन पत्र अनुसार ९० जना सेवाग्राहीमध्ये २८.८९ प्रतिशतले सेवा पहुँच अत्यन्त राम्रो, ५३.३३ प्रतिशतले राम्रो, १० प्रतिशतले सामान्य र ७.७८ प्रतिशतले कमजोर रहेको बताएका थिए। त्यसैगरी, सेवा प्राप्त गर्न लाग्ने समय सम्बन्धमा १७.७८ प्रतिशतले अत्यन्त राम्रो, ६२.२२ प्रतिशतले राम्रो, ६.६७ प्रतिशतले सामान्य तथा १३.३३ प्रतिशतले कमजोर रहेको प्रतिक्रिया दिएका थिए।। कर्मचारीको व्यवहार सम्बन्धमा ३३.३३ प्रतिशतले अत्यन्त राम्रो, ५४.४४ प्रतिशतले राम्रो, २.२२ प्रतिशतले सामान्य र १० प्रतिशतले कमजोर रहेको बताएका छन्। यस्तै, बर्हिगमन अभिमत सर्वेक्षण अनुसार सेवा प्रक्रियाबारे ४१.११ प्रतिशतलाई पूर्ण जानकारी, २७.७८ प्रतिशतलाई आंशिक जानकारी र ३० प्रतिशतलाई जानकारी नभएको देखिएको छ। यसले सेवा प्रवाहबारे सूचना प्रवाह अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए। सार्वजनिक सुनुवाइमा सहभागी नागरिकहरूले सेवा प्रवाह, विकास निर्माण, बजेट कार्यान्वयन तथा सुशासनका विषयमा जिज्ञासा, सुझाव र गुनासा राखेका थिए। सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी अधिकारी, प्रमुख प्रशासकिय अधिकृत अर्जुन थारु, वडाअध्यक्ष लगाएत विषयगत शाखाका प्रमुख, कर्मचारीहरुको उपस्थितीरहेको थियो।





















