१० श्रावण २०८३, आईतवार
१० श्रावण २०८३, आईतवार
सुर्य ढकाल लाइ जिताउन निर्वाचन क्षेत्र नं १ स्तरीय बृहत् युवा भेला
  • न्युज डेस्क

    ८ फाल्गुन २०८२, शुक्रबार

नेपालगंन्ज ।

नेपाल कम्युनिष्ट पार्टी एमाले निर्वाचन क्षेत्र नं १ युवा परिचालन कमिटीको आयोजनामा सम्पन्न बृहत् युवा भेला उत्साहजनक सहभागिता, व्यापक उपस्थिति तथा उल्लेखनीय शक्ति प्रदर्शनका साथ सम्पन्न भएको छ। कोहलपुरमा आयोजित उक्त कार्यक्रममा क्षेत्र नं १ अन्तर्गतका विभिन्न वडा तथा पालिकाबाट सयौँ युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमस्थल पार्टीका झण्डा, ब्यानर र नाराले सजिएको थियो भने सहभागी युवाहरूले पार्टीप्रति ऐक्यबद्धता जनाउँदै नाराबाजीसमेत गरेका थिए।
भेलाका प्रमुख अतिथि शान्ति ढकालले युवाशक्ति नै राष्ट्र निर्माणको प्रमुख आधार भएको बताउदै उनले देशको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थालाई सुदृढ बनाउन युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरिन् ।
“युवाहरू जागे देश जाग्छ, युवाहरू अघि बढे विकास तीव्र हुन्छ,” भन्दै उनले पार्टीको नीति, सिद्धान्त र राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरिन। आगामी निर्वाचनमा एमालेको विजय सुनिश्चित गर्न युवाहरू निर्णायक शक्ति बन्नुपर्ने उनको भनाइ थियो !
भेलालाई सम्बोधन गर्दै बाँके क्षेत्र नं १ का उम्मेदवार सूर्य ढकालले नेकपा एमाले भाषणभन्दा काममा विश्वास गर्ने पार्टी भएको उल्लेख गरे उनले विगतमा एमाले नेतृत्वमा भएका विकास निर्माणका कामहरूको स्मरण गर्दै अब पनि जनताको अपेक्षाअनुसार परिणाममुखी काम गरिने प्रतिबद्धता जनाए ।
उहाँले युवाहरूको माग, आवश्यकता र आकांक्षाका आधारमा योजना निर्माण गरिने बताउँदै आगामी स्थानीय तहको निर्वाचनमा बाँके जिल्लाका ८१ वटै वडामा युवाहरूलाई जनप्रतिनिधिका रूपमा सहभागी गराउने लक्ष्य रहेको जानकारी दिए। “प्रत्येक वडामा युवालाई नेतृत्वमा ल्याएर आफ्ना समस्या र मुद्दाहरू आफैं समाधान गर्न सक्ने वातावरण सिर्जना गर्नु हाम्रो लक्ष्य हो,” उनले भने।
सूर्य ढकालले सामाजिक न्यायसहितको राज्य व्यवस्था निर्माण, लोकतन्त्रको सुदृढीकरण, राष्ट्रियताको संरक्षण तथा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकका रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिदै समाजमा विद्यमान बेरोजगारी, भ्रष्टाचार, अव्यवस्था र असमानताको अन्त्यका लागि सक्षम नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।
पार्टीका जिल्ला अध्यक्ष निरक गुरुङले संगठन सुदृढीकरण, अनुशासन र एकतामै सफलता निहित रहेको धारणा राख्दै उनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलाइने भ्रम र अफवाहप्रति सचेत रहन युवाहरूलाई आग्रह गर्दै तथ्य र उपलब्धिका आधारमा जनतामाझ जानुपर्ने बताए
उहाँले ‘जेन्जी’ पुस्ताका युवाहरूलाई राजनीतिक चेतना र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गर्दै एमाले नेतृत्वमा मात्रै स्थिर सरकार र दिगो विकास सम्भव रहेको दाबी गरे !
युवा संघ बाँके इन्चार्ज सन्दिन बनियाको सभापतित्वमा सम्पन्न उक्त भेलामा अनेरा स्ववियु केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वर्षा मल्ल, राष्ट्रिय युवा संघ बाँकेका जिल्ला अध्यक्ष ज्ञानु ओली, बागेश्वरी अनेरा स्ववियु सभापति देवेन्द्र बुढा, क्षेत्रीय कमिटी सदस्य टोपराज जैसी, राजु तामाङ, जिल्ला कमिटी सदस्य एवं युवा फोर्स इन्चार्ज उमेश शाही, जिल्ला कमिटी सदस्य एवं युवा फाँट इन्चार्जलगायत नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने  कार्यक्रमको सञ्चालन युवा संघ बाँकेका उपाध्यक्ष रमेश मिजारले गरेका थिए ।
  • ८ फाल्गुन २०८२, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२