नेपालगन्ज — श्रम संस्कृति पार्टी बाँकेले संगठन सुदृढीकरण, जिम्मेवारी हेरफेर तथा आगामी कार्ययोजनाबारे निर्णय गर्दै पहिलो औपचारिक जिल्ला बैठक सम्पन्न गरेको छ। शनिबार नेपालगन्जस्थित पार्टी कार्यालयमा जिल्ला संयोजक श्रीमान थापा मगरको अध्यक्षतामा बसेको बैठकले विभिन्न विभाग र स्थानीय तहको जिम्मेवारी हेरफेर गर्नुका साथै तीन जनालाई पार्टी सदस्यता प्रदान गरेको हो।
बैठकले पार्टी संगठनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै संगठन विस्तार तथा जनसम्पर्कका गतिविधिलाई तीव्रता दिने निर्णय गरेको छ। बैठकको सञ्चालन जिल्ला सचिव दण्ड प्रसाद शर्माले गरेका थिए।
बैठकमा पार्टी अध्यक्ष हर्क साम्पाङको भदौ १३ गते तथा केन्द्रीय सचिव शान्ति गुरुङ पार्खिनको असोज १४ गते भएको बाँके भ्रमणका क्रममा भएका गतिविधिको समीक्षा गरिएको थियो। भ्रमणका क्रममा देखिएका सकारात्मक पक्ष तथा कमीकमजोरीबारे छलफल गर्दै आगामी दिनमा केन्द्रबाट हुने भ्रमण, भेटघाट, पार्टी प्रवेश तथा संगठन विस्तारका कार्यक्रमलाई थप व्यवस्थित र परिणाममुखी बनाउने निर्णय गरिएको पार्टीले जनाएको छ।
बैठकले अनुशासन विभागको संयोजकको जिम्मेवारी जिल्ला संयोजक श्रीमान थापा मगरलाई र प्रचार–प्रसार विभागको संयोजकको जिम्मेवारी मोहम्मद रहिस हलवाईलाई दिने निर्णय गरेको छ। यसअघि दुवै विभाग प्रदेश सदस्य दिनेश गुरुङले सम्हाल्दै आएका थिए। बैजनाथ गाउँपालिकाको संयोजकको जिम्मेवारी भने गुरुङले नै निरन्तर सम्हाल्ने निर्णय भएको छ।
अनुशासन विभागको सदस्यमा सीता बन्जाडे र जकमाया विकलाई जिम्मेवारी दिइएको छ। जानकी गाउँपालिकाको संयोजकमा रसीद खालाई दिने यसअघिको निर्णयलाई पनि बैठकले अनुमोदन गरेको छ। नेपालगन्ज उपमहानगरपालिकाको श्रमदान अभियानको संयोजकमा मोहम्मद इम्तियाज राईलाई जिम्मेवारी दिने निर्णय गरिएको छ।
संगठन विभाग प्रमुख राजन राना मगर केन्द्रीय सदस्यका लागि सिफारिस भएपछि रिक्त हुने संगठन विभाग प्रमुखको जिम्मेवारी गगन सिंह थापामगरलाई दिने निर्णय बैठकले गरेको छ। संगठन विस्तारको चरणमा विभागलाई थप सक्रिय र व्यवस्थित बनाउने उद्देश्यले जिम्मेवारी हेरफेर गरिएको पार्टीले जनाएको छ।
बैठकले जिल्ला सचिव दण्ड प्रसाद शर्मा र कोषाध्यक्ष दिलबहादुर थापालाई आपसी समन्वय र सहकार्यमा आर्थिक तथा प्रशासनिक कामलाई थप व्यवस्थित र पारदर्शी बनाउने गरी जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ। सचिवालय बैठकलाई नियमित र निर्णयमुखी बनाउने विषयमा पनि बैठकले आवश्यक पहल गर्ने निर्णय गरेको छ।
यसैबीच बैठकका क्रममा तीन जनाले श्रम संस्कृति पार्टीको सदस्यता ग्रहण गरेका छन्। जिल्ला संयोजक थापा मगरको उपस्थितिमा शालिकराम दमाई, आशा गौतम र मन्जु बानियाँले पार्टी सदस्यता लिएका हुन्।

पार्टीले नवप्रवेशी सदस्यलाई स्वागत गर्दै श्रम संस्कृति, सामाजिक रूपान्तरण तथा जनमुखी अभियानमा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ। बैठकले नयाँ जिम्मेवारी पाएका पदाधिकारी तथा सदस्यलाई बधाई दिँदै संगठन निर्माण, जनसेवा, श्रमदान र सामाजिक अभियानलाई प्राथमिकता दिने निर्णयसमेत गरेको छ।
पार्टीले आगामी दिनमा स्थानीय तहमा संगठन विस्तार, श्रमदान अभियान तथा जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ।





















