नेपालगञ्ज ।
खडैचा प्रहरी चौकीका इन्चार्ज असई कुलबहादुर विकको पहलमा ३० वर्षदेखि रोकिएको जग्गा र भवनको जग्गाधनी पुर्जा प्राप्त गरेको छ ।
बँकेको डुडुवा गाउँपालिकास्थित खडैचा प्रहरी चौकीले ३० वर्षदेखि रोकिएको जग्गा र भवनको जग्गाधनी पुर्जा प्राप्त गरेको हो । प्रहरी चौकी खडैचाले लामो प्रयासपछि भवन रहेको जमिन आफनै नाममा ल्याउन सफल भएको हो ।
सामाजिक कार्यमा अग्रसर असई बिक आफनो सामाजिक कार्यले निकै चर्चामा छन् । सरकारी पेशामा भएपनि उनले ब्यत्तिगत पहलमा सामाजिक कार्य गर्दै आएका छन् ।
खडैचा प्रहरी चौकीका इन्चार्ज असई कुलबहादुर विकका अनुसार तीन दशकअघि प्रहरी चौकीको भवन निर्माण भए पनि जग्गाधनी पुर्जा प्राप्त हुन सकेको थिएन । हाल गरिएको पहल र निरन्तर प्रयासपछि भवन रहेको जमिन प्रहरी चौकीको नाममा कायम भएको उनले बताए ।
उनले लामो समयदेखि रहेको जग्गाधनी पुर्जाको समस्या समाधान भएको बताउँदै अब प्रहरी चौकीको भौतिक पूर्वाधार निर्माणका लागि सहज हुने जानकारी दिए।
असई विकका अनुसार ३० वर्षअघि स्थानीय समाजसेवी लच्छु अहिरले प्रहरी चौकी निर्माणका लागि दुई कठ्ठा सात धुर जग्गा उपलब्ध गराएका थिए। तर, विभिन्न कारणले उक्त जग्गाको स्वामित्व प्रहरी चौकीको नाममा हस्तान्तरण हुन सकेको थिएन ।
जग्गाधनी पुर्जा प्राप्त भएसँगै अब प्रहरी चौकीमा आवश्यक भौतिक संरचना निर्माणको बाटो खुलेको छ । जमिन आफनै नाममा नहुदा भवन विस्तार तथा अन्य संरचना निर्माण गर्न कठिनाइ हुँदै आएको थियो । अब सेवा प्रवाहमा समेत सहजता आउने प्रहरी कर्मचारीले बताएका छन् ।
आफूले कार्यभार सम्हालेपछि जग्गा प्राप्तिका लागि पहल सुरु गरेको बताउदै असई विकले भन्नुभयो, “अथक प्रयास र मिहिनेतपछि जग्गा प्रहरी चौकीको नाममा ल्याउन सफल भएका छौ। जमिन प्राप्तिसँगै भौतिक संरचना निर्माणको बाटो खुलेको छ र सेवा प्रवाहमा समेत टेवा पुग्ने विश्वास छ ।”























