(नेपालगंन्ज )
बाके जिल्लामा महिलामाथि हुने हिंसा र न्याय प्रक्रियामा भएको भनिएको असंवेदनशीलता, दबाव–प्रभाव तथा अनिश्पक्षताको विरोधमा पीडित महिला तथा महिला अधिकारकर्मीहरू आन्दोलित भएका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्।
महिला अधिकारकर्मीहरूले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै लैङ्गिकतामा आधारित हिंसाका घटनामा सम्बन्धित निकायबाट प्रभावकारी रूपमा काम नभएको र पीडितलाई न्याय दिन ढिलाइ भइरहेको छ। संविधानले अधिकार सुनिश्चित गरे पनि कार्यान्वयन फितलो हुदा महिलाहरू झन् हिंसाको सिकार भइरहेको उनीहरूको आरोप छ।
आन्दोलनकारीहरूले बँकेका प्रहरी प्रमुख अंगुर जीसीमाथि असंवेदनशील, गैरजिम्मेवार र दबावमा परेर काम गरेको आरोप लगाएका छन्। उनीहरूले विभिन्न घटनाहरू प्रस्तुत गर्दै अनुसन्धान र मुद्दा दर्तामा पक्षपात भएको दाबी गरेका छन्।
उनीहरूले सार्वजनिक गरेका घटनामा शिक्षकद्वारा गरिएको अभद्र व्यवहारमा प्रभावमा परेर मुद्दा दर्ता गरिएको, सृजना बुढा मगरको घटनामा चरित्र हत्या गरिएको, टंगपसरीकी गुडिया कहार हत्या प्रकरणमा पूर्ण अनुसन्धान नभएको, बेपत्ता व्यक्तिको जाहेरी ढिलाइ भएको, ६ वर्षीय बालक दीपेश चमारको मृत्यु घटनामा संलग्न सबैलाई कारबाही नगरेको तथा निर्मला कुर्मी प्रकरणमा अनुसन्धान टोलीमाथि हस्तक्षेप गरिएको आरोप समावेश छन्।
आन्दोलनको नेतृत्व सकिना शाहले गर्दै आएकी छन्। उनीहरूले आफना माग पूरा नभएसम्म प्रत्येक दिन जिल्ला प्रशासन कार्यालय अगाडि दुई घण्टा धर्ना जारी राख्ने चेतावनी दिएका छन्।















