१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
बाँके–१ मा सूर्य ढकाल लोकप्रिय बन्दै 
  • न्युज डेस्क

    २९ कार्तिक २०७९, मंगलवार

कोहलपुर,२८ कार्तिक–बाँके क्षेत्र नं.१ मा नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकाल लोकप्रिय बन्दै गएका छन् ।
युवा नेता ढकालको पक्षमा राप्तीसोनारीका गाउँवस्तीबाट युवा देखि वृद्ध उमेरका मतदाता उत्साहका साथ चुनावी कार्यक्रममा खुल्न थालेका छन् ।
वितेको ५ वर्षमा जितेर गएका जनप्रतिनिधि फर्केर नआएकोले आगामी मङिसर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं. १ मा युवा नेता ढकाललाई जिताउन मतदाता लागिपरेको पाईएको छ ।
सोमवार राप्तीसोनारी गाउँपालिका वडा नं. १ कुसुममा नेकपा एमाले र राप्रपाले आयोजना गरेको संयुक्त चुनावी आमसभामा  खासकुस्माका गाउँवस्तीबाट ठूलो सङ्ख्यामा युवादेखि वृद्ध उमेरका मतदाता उत्साहका साथ सहभागि भई युवा नेता ढकाललाई जिताउन गाउँ–गाउँ वस्तीबाट लाग्ने प्रतिवद्धता जनाएका छन् ।
सो सभामा बोल्दै उम्मेदवार ढकालले बाँके क्षेत्र नं १ विकासको लागि प्राकृतिक रुपमै प्रचुर सम्भावना रहेको बताउदै त्यसको सहि सदुपयोग गर्न र समृद्ध बाँके निर्माणको जिम्मेवारी एकपल्ट एमालेलाई दिन आग्रह गर्नुभयो ।

“कोहलपुर, राप्तीसोनारी र नरैनापुरमा मैले राजनीतिको धेरै समय र पसिना बगाएको छु, प्रत्येक टोल, वस्ती र घर–घरमा पुगेको छु, त्यसैले म बलियो र विजय नजिक छु”,उहाँले भन्नुभयो,“म जनताको काम गर्ने व्यक्ति हुँ, यहाँका जनताले काम नगर्ने व्यक्तिलाई बोकेर हिँड्दैनन् ।”

चुनावी सभामा बाँके क्षेत्र नं. १ प्रदेश क प्रदेशसभा सदस्य उम्मेदवार नरेन्द्र पौडेलले राष्ट्रिय स्वाभिमान, विकास र समृद्धिको लागि बाँके क्षेत्र नं. १ मा यसपटक जनताले आफुहरुलाई न्याय गर्न आग्रह गर्नुभयो ।

पूर्वमन्त्री एवम् राप्रपाबाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवार प्रेमबहादुर भण्डारीले बाँके क्षेत्र नं. १ मा यसपटक नेकपा एमाले र राप्रपाका उर्जावान युवा उम्मेदवारको पक्षमा जनमत रहेको उल्लेख गर्नुभयो ।
नेकपा एमाले केन्द्रीय सदस्य शान्ति ढकाल, केन्द्रीय निर्वाचन आयोग सदस्य विजया धिताल, बाँके उपाध्यक्ष डिल्ली बिसी, राप्रपा केन्द्रीय सहमहान्त्री ऋषिराज देवकोटा लगायतले बाँके क्षेत्र नं. १ को समग्र विकासको लागि सूर्य ढकाल र नरेन्द्र पौडेललाई विजयी बनाउन जनता आतुर रहेको दावी गर्नुभयो ।

राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा नेकपा एमालेको संगठन राम्रो रहेको छ । यी दुई स्थानीय तहका ९ वडामा एमालेले जीत हासिल गरेको छ । १ वडामा जीत हासिल गरेको राप्रपासँग तालमेल र एमाले उम्मेदवार ढकालको लोकप्रियताले  आफुहरु जीतको नजिक पुगेको एमाले क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटीका संयोजक बलराम भट्टराइले बताउनुभयो ।

  • २९ कार्तिक २०७९, मंगलवार प्रकाशित
  • Nabintech