७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित
  • न्युज डेस्क

    २९ मंसिर २०७८, बुधबार

न्युड डेक्स, मंसिर २८(काठमाडौं)–
कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जना बीच मंगलबार पुन: निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।
दोस्रो चरणमा देउवा २ हजार ७ सय ३३ मत ल्याएर निर्वाचित भएका हुन् । मतदान अधिकृत सुनील पाण्डेका अनुसार ४ हजार ६ सय २३ मत खसेकामा प्रतिस्पर्धी कोइरालाले १ हजार ८ सय ५५ मत पाए । ३५ मत बदर भयो । दिउँसो साढे ३ बजेदेखि राति साढे ९ बजेसम्म मतदान भएको थियो । मंगलबार राति सवा ११ बजे सुरु भएको मतगणना बुधबार बिहान करिब साढे २ बजे सकिएको थियो ।

पहिलो चरणको निर्वाचनमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिका उम्मेदवार थिए । ४ हजार ६ सय ७९ मत खसेकाका देउवाले २ हजार २ सय ५८ (४८ दशमल २५ प्रतिशत), कोइरालाले १ हजार ७ सय २ (३६ दशमलब ३७ प्रतिशत), सिंहले ३ सय ७१ (७ दशमलव ९२ प्रतिशत), निधिले २ सय ५० (५ दशमलव ३४ प्रतिशत) र गुरुङले २२ (शून्य दशमलव ४७ प्रतिशत) मत ल्याएका थिए । ७६ मत बदर भएको थियो । पार्टीको विधानअनुसार सभापति निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ ।

पाचौं पटक प्रधानमन्त्री चलाइरहेका देउवाको कांग्रेस नेतृत्वमा दोस्रो कार्यकाल सुरु भएको हो । २०७२ फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा उनी रामचन्द्र पौडेललाई पराजित गर्दै पहिलोपटक कांग्रेसको सभापति बनेका थिए । २०४८ को आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका देउवाले पहिलो पटक २०५७ माघको १० औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।

पोखरामा आयोजित उक्त महाधिवेशनमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई चुनौती दिँदै उनले उम्मेदवारी दिएका थिए । त्यतिबेला कोइरालाले ९ सय ३६ मत ल्याएर जित्दा देउवा ५ सय ७ मतमा सीमित भएका थिए । आन्तरिक कलहका कारण देउवाले २०५९ असारमा पार्टी विभाजन गर्दै नेपाली कांग्रेस (प्रजातान्त्रिक) स्थापना गरे ।

२०६४ असोजमा पार्टी एकीकरण गर्दै ४० प्रतिशत हिस्सासहित वरिष्ठ नेताका हैसियतमा उनी कांग्रेसमा फर्किए । त्यसको तीन वर्षपछि भएको १२ औं महाधिवेशनमा उनले पुन: सभापतिमा उम्मेदवारी दिए । तर सुशील कोइरालासँग पराजित भए । उनको राजनीतिक जीवनमा एकीकृत कांग्रेस पार्टीको सभापति हुने अवसर २०७२ मा मात्र जुर्‍यो । ५० प्रतिशत कटाउन नसक्दा दोस्रो चरणमा पुगेका उनी रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति भएका थिए । देउवा २०५९ असारदेखि २०६४ असोजसम्म कांग्रेस (प्रजातान्त्रिक) को सभापति बनेका थिए ।

डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलामा २००३ सालमा जन्मिएका देउवा २५ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको अध्यक्ष भएका थिए । उनले पटक–पटक गरेर ९ वर्ष जेलजीवन बिताए । उनको राजनीतिक यात्रा निकै सफल मानिन्छ । २०४८ सालयताका ६ वटै संसदीय र संविधानसभा निर्वाचनमा उनी डडेलधुराबाट निर्वाचित भएका छन् । २०४८ मा गृहमन्त्री बनेका उनी त्यसको चार वर्षमै २०५२ भदौ २७ मा पहिलोपटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

त्यसपछि उनी २०५८ साउन ११ मा दोस्रो पटक, २०६१ जेठ २० मा तेस्रो पटक, २०७४ जेठ २३ मा चौथो पटक र २०७८ असार २९ मा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भए । पटक–पटक प्रधानमन्त्री बने पनि शासकीय क्षेत्रमा उनी निकै विवादास्पद छन् । देउवामाथि विगतमा सत्तामा टिक्नका लागि जम्बो मन्त्रिपरिषद् बनाएको, संसद्मा पजेरो काण्ड भित्र्याएको, संसद् भंग गरेर प्रजातन्त्र राजालाई सुम्पिएको आरोप लाग्ने गरेका छन् । उनले कांग्रेस पार्टी फुटाएको आरोप पनि खेप्दै आएका छन् ।

  • २९ मंसिर २०७८, बुधबार प्रकाशित
  • Nabintech