नेपालगन्ज।
४७औँ विश्व पर्यटन दिवसको अवसरमा नेपालगन्ज पर्यटन परिषद्ले यहाँस्थित नेपाल–भारत जमुनाहा नाकामा आइतबार सरसफाइ गरेको छ ।
नेपालगन्ज पर्यटन परिषद्को संयोजकत्वमा नाटा बाँके च्याप्टर, हान बाँके, होटल व्यवसायी संघ बाँके, होटल सिद्धार्थ, सामुदायिक प्रहरी बाँके र होटल कल्पतरुको सहकार्यमा नेपालगन्जको मुख्य प्रवेशद्वार जमुनाहा नाकामा सरसफाइ कार्यक्रम गरिएको हो ।
भारत लगायत तेस्रो देशबाट नेपालगन्ज भित्रिने पर्यटकहरूलाई स्वच्छ र सफा वातावरण प्राप्त होस् भन्ने उद्देश्यका साथ सीमा नाकामा सरसफाइ गरेर पर्यटकहरूलाई सकारात्मक सन्देश दिन खोजिएको पर्यटन परिषद्का अध्यक्ष केशवराज न्यौपानेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भारतबाट सबैभन्दा बढी पर्यटक भित्रिने भएकोले उनीहरूलाई सफा र स्वच्छ वातावरणमा राम्रो स्वागत गर्न पाएमा त्यसबाट सकारात्मक प्रभाव पर्ने भएकाले सरसफाइ कार्यक्रम गरिएको हो ।”
सीमा पारिबाट आउने पर्यटकसँग राम्रो र सम्मानपूर्ण व्यवहार गर्न नाकामा खटिएका सुरक्षाकर्मीलाई सो अवसरमा आग्रह गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
सरसफाइ कार्यक्रममा नेपालगन्जका होटल व्यवसायी, पर्यटन व्यवसायी लगायत सुरक्षाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
पश्चिम नेपालमा पर्यटन क्षेत्रको प्रवर्द्धन, विकास, संरक्षण तथा पर्यटन व्यवसायसँग सम्बन्धित सरोकारवालाहरूबिच सहकार्य र समन्वय गर्ने उद्देश्यले होटल संघ नेपाल, होटल व्यवसायी संघ बाँके, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) बाँके च्याप्टरको संस्थागत सदस्य रहने गरी नेपालगन्ज पर्यटन परिषद्को गठन गरिएको हो ।
परिषद्ले भारतबाट अधिक पर्यटक तानेर बाँके, बर्दिया लगायतका जिल्लासहित स्वर्गद्धारी, रारा ताल र मानसरोवरसम्म पु¥याउने लक्ष्य लिएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले बताउनुभयो ।




















