११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार
नेपालगन्ज पर्यटन परिषद् बाँकेको अध्यक्षमा केशवराज न्यौपाने निर्वाचित
  • न्युज डेस्क

    ११ आश्विन २०८३, आईतवार

नेपालगन्ज : होटल संघ नेपाल (हान) बाँकेका बरिष्ठ उपाध्यक्ष केशवराज न्यौपाने नेपालगन्ज पर्यटन परिषद् (एनटिसी) बाँकेको अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
परिषद्को आइतबार नेपालगन्जमा सम्पन्न प्रथम साधारण तथा अधिवेशनले न्यौपानेको नेतृत्वमा ७ सदस्यीय कार्य समिति सर्वसम्मत् रुपमा चयन गरेको निर्वाचन अधिकृत अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो ।
गौतमका अनुसार परिषद्को उपाध्यक्षमा नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मी, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेल महासचिव, एकराज पाण्डेय कोषाध्यक्ष निर्वाचित हुनु भएको छ । परिषद्कोे सदस्यमा नाट्टा बाँकेका महासचिव भागिराम ओली, होटल व्यवसायी संघका सुरजबहादुर भण्डारी र होटल संघ नेपालबाट निशा वाग्ले सदस्यमा निर्वाचित हुनु भएको छ । दुई सदस्य कार्य समितिले मनोनित गर्नेछ ।

यस अघि लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्र्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । मन्त्री खत्रीले बाँकेमा पर्यटन प्रबद्र्धनका लागि प्रदेश सरकारले परिषद्सँग मिलेर काम गर्न सक्ने बताउँदै योजना ल्याउन आग्रह गर्नुभएको थियो । प्रदेश सरकारले लुम्बिनीमा पर्यटनबाट अर्थतन्त्रलाई सबल बनाउने निष्कर्षसहित प्राथमिकतामा राखेर पर्यटन क्षेत्रको विकासका योजना अघि सारेको दाबी गर्नुभयो ।

कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी अमर ओेली, पर्यटन कार्यालय कोहलपुरका प्रमुख सुमन पौडेल, घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख मनोज घर्ती, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओली, हान बाँकेका दिवाकर खनाल, आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपाने, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र होेटल होटल व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्लेले अधिवेशन सफलताको कामना गर्नु भएको थियो । अधिवेशनले तदर्थ समितिका महासचिव भीमलाल कँडेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पारित गरेको थियो ।

बाँकेमा क्रियाशील पर्यटन व्यवसायीसँग सम्बन्धित होटल संघ नेपाल, नाट्ट बाँके र होटल व्यवसायी संघ बाँकेले संस्थागत प्रतिनिधित्व गर्दै साझा सामाजिक संस्थाको रुपमा नेपालगन्ज पर्यटन परिषद् गठन गरिएको हो । परिषद्ले बाँकेमा पर्यटन क्षेत्रको विकासका लागि नेपालगन्ज फुड वेभरेज एण्ड होटल एक्स्पो, वेस्टर्न ट्राभल मार्ट, म्यारिज डेस्टिनेशन, टुरिजम डेस्टिनेशन डेभलपमेन्ट र क्रस बौर्डर टुरिजमका क्षेत्रका विभिन्न काम गर्ने महासचिव भीमलाल कँडेल बताउँनुभयो ।

  • ११ आश्विन २०८३, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२