२२ भाद्र २०८३, सोमबार
२२ भाद्र २०८३, सोमबार
नरैनापुरमा वर्थिङ सेन्टर पुग्न थाले आमाहरू
  • न्युज डेस्क

    २२ भाद्र २०८३, सोमबार

कुनै समय प्रसूति गराउन ५० किलोमिटरभन्दा बढी दूरी पार गरेर नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो। एम्बुलेन्स थिएन, गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध थिएन। धेरै महिलाले जोखिम मोलेर घरमै सुत्केरी गराउँथे । तर अहिले बाँकेको दुर्गम नरैनापुर गाउँपालिकाको अवस्था फेरिएको छ। गाउँ–गाउँमा सञ्चालनमा आएका वर्थिङ सेन्टरले सुरक्षित मातृत्वको नयाँ अभ्यास स्थापित गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार केही वर्षअघि नरैनापुरका अधिकांश महिलाले घरमै सुत्केरी गराउने गरेका थिए। जटिल अवस्था आएमा भारतका सीमावर्ती अस्पताल वा नेपालगञ्जस्थित भेरी अस्पताल पुग्नुपर्ने बाध्यता थियो। अहिले भने वडा–वडामा सञ्चालनमा रहेका वर्थिङ सेन्टरले त्यो बाध्यताको अन्त्य गरिदिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार गणतन्त्रपछि नरैनापुरमा सडक, विद्युत् र स्वास्थ्य पूर्वाधार विस्तारसँगै वर्थिङ सेन्टर सञ्चालनमा आएपछि दुर्गम बस्तीका महिलाले आफ्नै गाउँमा सुरक्षित प्रसूति सेवा पाउन थालेका हुन्।

स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले पहिले स्वास्थ्य संस्थामा जान हिचकिचाउने महिला समेत अहिले नियमित गर्भ परीक्षणदेखि सुत्केरीसम्म वर्थिङ सेन्टरमै आउने गरेको बताउनुभयो। उहाँका अनुसार वडा नम्बर १ देखि ६ सम्मका वर्थिङ सेन्टरमा चौबीसै घण्टा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा प्रदान गरिँदै आएको छ । गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म ल्याउन निःशुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराइएको छ।

चालु आर्थिक वर्षमा वडा नम्बर १ मा १९८, वडा नम्बर २ मा १७४, वडा नम्बर ३ मा १०१, वडा नम्बर ४ मा २५४, वडा नम्बर ५ मा २८६ र वडा नम्बर ६ मा १५३ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ।

अध्यक्ष शाहका अनुसार प्रसूतिको क्रममा जटिल अवस्था आएमा भेरी अस्पतालमा तत्काल निःशुल्क रेफर गर्ने तथा ल्याउने–लैजाने व्यवस्था समेत गाउँपालिकाले मिलाएको छ।

वडा नम्बर १ कटकुइया स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना गुरुङले सुरक्षित मातृत्वबारे समुदायमा चेतना बढ्दै जाँदा संस्थागत सुत्केरी रोज्ने महिलाको संख्या निरन्तर बढिरहेको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्यकर्मीको नियमित परामर्श, परिवारको सहयोग र गाउँपालिकाले उपलब्ध गराएको सहज सेवाका कारण महिलामा वर्थिङ सेन्टरप्रतिको विश्वास बढेको हो ।

कुनै समय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको नरैनापुरमा अहिले सुरक्षित प्रसूति सेवा सामान्य अभ्यास बन्दै गएको छ। स्थानीय सरकारको लगानी, स्वास्थ्यकर्मीको निरन्तर सेवा र समुदायमा बढेको जनचेतनाले दुर्गम क्षेत्रमा मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा सकारात्मक परिवर्तन ल्याएको देखिन्छ ।

  • २२ भाद्र २०८३, सोमबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२