७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
बाँके–१ मा नयाँ अनुहार रोज्दै मतदाता
  • न्युज डेस्क

    २५ कार्तिक २०७९, शुक्रबार

कोहलपुर,२४ कार्तिक–बाँके निर्वाचन क्षेत्र नं. १ का मतदाताको रोजाई नयाँ अनुहार हुने गरेको छ । मतदाताहरुले हरेक निर्वाचनमा नयाँ अनुहारलाई चुन्ने गरेका छन् ।यस क्षेत्रबाट विगतमा चुनाव जितेका अधिकांश व्यक्तिहरू प्रतिस्पर्धामा रहे पनि मतदाताको रोजाइ भने नयाँ अनुहार भएको पाइयो । यहाँका नागरिकले नयाँ अनुहारलाई रोजेको र विश्वास गरेको देखिएको छ । नागरिकले व्यक्ति मात्रै होइन, पटक पटक पार्टीसमेत नयाँ र फरक खोज्दै आएको नागरिक अगुवा डिलबहादुर परियार  बताउनुहुन्छ । ‘पूरानाले अपेक्षा अनुसारको भूमिका खेल्न नसकेकाले नयाँ विकल्प खोज्ने गरेका हुनसक्छन्’, उहाँले भन्नुभयो ।

उहाँले जनताले सोचे अनुसार जनप्रतिनिधिहरु क्रियाशील नभएकाले नयाँ विकल्पको खोजी भएको हुनसक्ने बताउनुभयो । जनताको दुःखमा साथ दिने र जनताका काम गर्ने नेतालाईनै मत दिने मुडमा मतदाता रहेको उहाँको भनाई छ ।
बाँके क्षेत्र नं. १ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका महेश्वरजङ्ग गहतराज र नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य ढकालबीचको प्रतिस्पर्धा रोचक बनेको छ ।

बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार गहतराज दोस्रो पटक यस क्षेत्रमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ भने
एमालेका युवा नेता ढकालले पहिलोपटक जनताको माझ मत थाप्र्दै हुनुहुन्छ । ढकाललाई राप्रपासहितका गठबन्धनको समर्थन छ । यो क्षेत्रमा सत्ता गठबन्धनका मन्त्री गहतराज र युवा नेता ढकालबीच सिधा प्रतिस्पर्धा देखिएको छ ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट विजयी गहतराजको दोहोरिने चाहनामा एमालेका युवा नेता ढकाल बाधक बन्दै पहिलो प्रयासमै नयाँ इतिहास रच्ने योजनामा हुनुहुन्छ । हालसम्मको कुनै पनि निर्वाचनमा सो क्षेत्रबाट एक पटक विजयी भएका उम्मेदवार अर्को निर्वाचनमा दोहोरिएको इतिहास छैन।

एमाले–राप्रपा तालमेलका साझा उम्मेदवार ढकालले बाँके क्षेत्र नं. १ का जनतामा चारैतिर परिवर्तनको लहर चलेकोले यसपटक आफु जितको नजिक रहेको दावी गर्नुभयो ।

‘दुई जना सशक्त उम्मेदवारमध्ये म बलियो र विजय नजिक छु ।’,उहाँले भन्नुभयो,‘यहाँका जनताले काम नगर्ने व्यक्तिलाई बोकेर हिँड्दैनन। ’

राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा नेकपा एमालेको संगठन राम्रो रहेको छ । राप्रपासँग तालमेल भएकोले सत्ता गठबन्धनभन्दा युवा नेता ढकालको निर्वाचन माहोल दैनिक रुपमा बलियो हुँदै गएको छ ।

यो निर्वाचन क्षेत्रमा एउटै व्यक्ति अपवाद वाहेक दोहोरिएर निर्वाचन जितेका छैनन् ।  विगतमा २०४८ मा नेपाली कांग्रेसबाट सैयद मैराज अहमद शाह, २०५१ र २०५४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भण्डारी, २०५६ मा नेपाली कांग्रेसबाट ज्ञानु केसी, २०६४ मा नेकपा माओवादी बाट तिलक परियार, २०७० मा नेकपा एमालेबाट देवराज भार र २०७४ मा नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का महेश्वरजङ्ग गहतराज निर्वाचित भईसक्नु भएको छ ।

ढकालका प्रतिष्पर्धी उम्मेदवार गहतराजले आफूले गत पाँच वर्षमा जितेर गएपछि जनताका लागि काम नगरेको आफ्नो परिवार र नातावादमा फसेको यहाँका मतदाताको आरोप छ ।

  • २५ कार्तिक २०७९, शुक्रबार प्रकाशित
  • Nabintech