नेपालगञ्ज — बाके जिल्लाका प्रहरी प्रमुख (एसपी) अंगुर जिसी र बहुमुखी क्याम्पसका शिक्षक नारायण शर्माविरुद्ध कारबाहीको माग गर्दै पीडित पक्ष तथा महिला अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय बाके अगाडि बिहीबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्।
पीडितका अनुसार, परसपुरकी करिब १४ वर्षीया बालिका बाख्रा चराउन गएका बेला उक्त बाख्रा शिक्षक शर्माको घरआँगनमा पसेर सामान्य क्षति पु¥याएको विषयमा विवाद उत्पन्न भएको थियो। सो क्रममा शिक्षक शर्मा लगायतका व्यक्तिहरूले बाख्रा नियन्त्रणमा लिई बालिकामाथि कुटपिट गरेको तथा अभद्र व्यवहार गरेको आरोप लगाइएको छ।

बालिकाले घटनापछि घरमा जानकारी गराएपछि उनका परिवारका सदस्यहरू घटनास्थल पुगेका थिए। परिवारका सदस्यले बालिकामाथि कुटपिट किन गरिएको भन्दै आपत्ति जनाउँदा शिक्षक शर्माले गालीगलौज गर्दै प्लास्टिकको पानी तान्ने पाइप प्रयोग गरी पुनः कुटपिट गरेको आरोप पीडित पक्षको छ। उक्त झडपका क्रममा एक महिलाको हातमा चोट लागेको बताइएको छ।
घटनापछि प्रहरी टोलीले संलग्न व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय लगेको भए पनि आफूहरूको पक्ष नसुनी एकपक्षीय रूपमा व्यवहार गरिएको पीडितहरूको आरोप छ। उनीहरूले प्रहरी प्रशासनले दबाब र प्रभावमा परेर न्याय नदिएको बताएका छन्।

पीडित पक्षकी गुल्शन जहाँले “जबसम्म हाम्रो जाहेरी दर्ता हुदैन र दोषीमाथि कारबाही हुँदैन, तबसम्म धर्ना जारी रहने” बताइन्।
महिला अधिकारकर्मीहरूले बालिका तथा महिलासम्बन्धी घटनामा देखिएको असंवेदनशीलताको विरोध गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
















