हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको एजेन्डासहित सुशील चौधरी चुनावी दौडमा
बर्दिया, फाल्गुन ४ गते
बर्दिया क्षेत्र नं. २ मा हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था लगायतको एजेन्डासहित राप्रपाबाट सुशील चौधरी चुनावी दौडमा सक्रिय भएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका राजापुर नगरपालिका वडा नं. ३ टेडिया निवासी चौधरीले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै उक्त अवधारणालाई प्रमुख राजनीतिक एजेन्डा बनाएकाे बताएका हुन् ।
उनले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै राष्ट्रिय पहिचानको जगेर्ना आवश्यक रहेको र देशको स्थायित्व र एकताका लागि संवैधानिक राजसंस्थाले अभिभावकीय भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
स्थानीय माटोमै हुर्के–बढेका चौधरी सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका युवा व्यक्तित्वका रूपमा परिचित छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका विषयलाई प्राथमिकतामा राख्दै बर्दिया क्षेत्र नं. २ को समग्र विकासका लागि काम गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
उनले भ्रष्टाचारमुक्त सुशासन, पारदर्शी र जवाफदेही प्रशासन स्थापना गर्ने, शून्य सहनशीलता नीति अवलम्बन गर्ने तथा संघीय संरचनाको पुनरावलोकन गर्दै स्थानीय तह सशक्तिकरणमा जोड दिने उल्लेख गरेका छन् ।
त्यसैगरी कृषि, पर्यटन, उद्योग र जलस्रोत विकासमार्फत आर्थिक आत्मनिर्भरता हासिल गर्ने, स्वदेशमै रोजगारी सिर्जना गर्ने तथा गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवामा विशेष ध्यान दिने उनकाे योजना छ ।
निर्वाचन नजिकिँदै जाँदा बर्दिया क्षेत्र नं. २ मा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा चर्किँदै गएको छ। यस्तो अवस्थामा हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको मुद्दा उठाउँदै चौधरीले चुनावी बहसलाई नयाँ मोड दिने प्रयास गरेका छन्।











