राप्रपाकाे तर्फबाट बर्दिया क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका वीरबहादुर कामीले आगामी निर्वाचनका लागि मतदाता समक्ष भावनात्मक अपिल गरेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कामीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई मुख्य आधार बनाएको चुनावी सन्देशसहित अपिलपत्र सार्वजनिक गर्दै विगतका राजनीतिक अभ्यासबाट देश दिशाहीन बनेको दाबी गरेका हुन् ।
अपिलपत्रमा अहिले मुलुक गम्भीर अवस्थाबाट गुज्रिरहेको, धर्म, संस्कृति र राष्ट्रियता संकटमा परेको तथा विदेशी हस्तक्षेप बढेको उल्लेख गरिएको छ ।
उम्मेदवार कामीले २०६३ साल जेठ २५ गतेको राजनीतिक परिवर्तनपछि स्थायित्व हराएको र देश पहिचानविहीन अवस्थामा पुगेकोले राप्रपा राजसंस्था पुनःस्थापनाको लागि लडिरहेकाे बताएका छन् । उनले वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने एजेण्डा अघि सारेका छन् ।
उनले मतदातालाई ‘हलो’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै राष्ट्रको पहिचान, संस्कार र स्वाभिमान जोगाउन एकताबद्ध हुन आह्वान गरेका छन् । प्रचार सामग्रीमा राष्ट्रिय प्रजातन्त्र पार्टी, बर्दिया क्षेत्र नं. १ को तर्फबाट अत्यधिक बहुमतले विजयी गराउन अनुरोध गरिएको छ ।
निर्वाचन नजिकिँदै जाँदा बर्दियामा विभिन्न दल तथा उम्मेदवारले आ–आफ्ना एजेण्डा र दृष्टिकोण सार्वजनिक गर्दै मतदातालाई आकर्षित गर्ने प्रयास तीव्र बनाएका छन् ।











