नेपालगन्ज।
बाके जिल्लाका आठ स्थानीय तहमध्ये खजुरा गाउपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामै पहिलो स्थान हासिल गर्न सफल भएको छ। ७१।९९ प्रतिशत अंक प्राप्त गर्दै खजुराले सेवा प्रवाह, वित्तीय सुशासन, योजना कार्यान्वयन, पारदर्शिता र समन्वयका सूचकहरूमा उल्लेखनीय प्रगति गर्दै अन्य सात पालिकालाई पछि पारेको हो।
स्थानीय सरकार सञ्चालनका विभिन्न सूचकहरूमा प्राप्त यो सफलता खजुरा पालिकाले यसलाई राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन र आम नागरिकबीचको सहकार्यको परिणाम मानेको छ।
गाउपालिका अध्यक्ष डम्बर बहादुर विकले यो उपलब्धि सम्पूर्ण खजुरावासीको भएको बताउदै आगामी दिनमा अझ जिम्मेवारीका साथ अघि बढ्ने प्रतिबद्धता जनाए । ‘हामीले निर्वाचनका बेला जनतासामु गरेका प्रतिबद्धता पूरा गर्ने लक्ष्यसहित काम गरेका थियौ ’उनले भने, ‘त्यसैको परिणामस्वरूप जिल्लामै पहिलो बन्न सफल भएका हौ ’ ।
उपाध्यक्ष मञ्जु मल्लले योजनाहरूको नियमित अनुगमन, लक्षित वर्गका कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा विकास निर्माणमा गुणस्तर कायम गरिएकाले सकारात्मक नतिजा प्राप्त भएको बताइन्।
प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले कर्मचारीहरूको सक्रियता, समयमै योजना सम्पन्न गर्ने कार्यसंस्कृति र नेतृत्वसंगको समन्वयले सफलताको आधार भएको बताए ।
यसैगरी, वित्तीय अनुशासनलाई कडाइका साथ पालना गरिएको बताउँदै वरिष्ठ लेखा अधिकृतले बेरुजु न्यूनीकरण, मितव्ययी बजेट खर्च र आर्थिक पारदर्शितामा कुनै सम्झौता नगरेको स्पष्ट पारे ।















