२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार
एक्लै भोट माग्दै स्वतन्त्र उम्मेदवार शाह
  • न्युज डेस्क

    २० माघ २०८२, मंगलवार

‘यो चुनाव सरकार बनाउने मात्र होइन, राजनीतिक संस्कार सुधार्ने अवसर पनि हो’

नेपालगंन्ज ।
हातमा पर्चा । बिना तामझाम । न कुनै मानिसहरुको हुल ।उनि एक्लै भोट माग्दै बजार चोक , टोलतिर डुलिरहन्छन् ।
बाके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार सौभाग्य जंग शाह आफनो चुनाव चिन्ह ‘कप प्लेट’ र स्पष्ट एजेन्डासहित घरदैलो अभियानमा सक्रिय छन्।
नेपाली, मैथिली र उर्दु—तीन भाषामा तयार गरिएको एजेन्डा लिएर घरघर पुगेका शाहले नेपालगन्जको बहुजातीय र बहुभाषिक पहिचानलाई सम्मान गर्दै सबै नागरिकले आपनो एजेन्डा बुझ्न पाउनुपर्छ भन्ने उद्देश्य राखेका छन् ।
नेपालगन्जमा विभिन्न जात, धर्म र भाषिक समुदायको सहअस्तित्व रहेकाले सबै भाषाभाषी मतदातासम्म आफना कुरा स्पष्ट रूपमा पु¥याउन तीन भाषामा एजेन्डा सार्वजनिक गरिएको शाहको भनाइ छ। “सबै नागरिकले मेरो सोच र योजना बुझ्न पाउनुपर्छ, यही मेरो उद्देश्य हो,” उनले भने।
दशकौंदेखि स्थापित दलहरूले शक्ति सङ्घर्ष र नीतिगत भ्रष्टाचारलाई प्रश्रय दिएको भन्दै आम मतदातामा चरम वितृष्णा छाइरहेका बेला यसपटक परम्परागत राजनीतिको विकल्पमा एक सशक्त ‘स्वतन्त्र लहर’ देखिएको छ । त्यसैले उनी बँके क्षेत्र नम्बर २ का बलिया उम्मेदवारका रूपमा चर्चामा आएका छन् ।जेन–जी आन्दोलनका प्रिय दाजुका रूपमा चिनिएका शाह नेपालगन्जका युवामाझ मात्र नभई आम नागरिक समाजमा एक लोकप्रिय पात्र हुन् ।

दलहरूले केवल आफना कार्यकर्ता र सिमित गुटको स्वार्थ रक्षा गर्ने ‘सिन्डिकेट’ चलाउदा विकासका मुख्य मुद्दा ओझेलमा परेको जनगुनासो बढिरहेका बेला सौभाग्य जंग शाहको स्वतन्त्र उम्मेदवारीले स्थानीय राजनीतिमा गम्भीर रणनीतिक चुनौती खडा गरिदिएको छ ।
शाहले आफनो चुनावी मैदानमा आगमन कुनै राजनीतिक रहर मात्र नभई वर्तमान बेथितिको अनिवार्य प्रतिफल भएको उनले बताए । शाह स्वयम् यसलाई एउटा ‘बाध्यता’ का रूपमा व्याख्या गर्छन् । आफू सानो हुँदा विद्यालयमा पढ्ने ‘नेपाल विकासोन्मुख देश हो ।’ भन्ने भाष्य आज वयस्क हुँदा पनि नबदलिएको भन्दै, दलीय विचारधाराभन्दा माथि उठेर ‘स्वतन्त्र आवाज’ को बाटो रोज्नुको पछाडि उनी दलभित्र हुने ‘ह्वीप’ र दबाबलाई मुख्य कारण मान्छन् ।

दलमा आबद्ध हुदा जनताको वास्तविक समस्याभन्दा पार्टीको एजेण्डा र माथिल्लो तहका नेताको निर्देशन मान्नुपर्ने बाध्यताले नागरिकका मुद्दा ओझेलमा पर्ने भएकाले दलीय दबाब मुक्त भएर जनताका पक्षमा संसदमा उभिनु नै आफनो एकमात्र उनको लक्ष्य छ ।
शाहले केवल चुनावी नारा मात्र होइन, निर्वाचित भएको पहिलो र दोस्रो आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी ठोस ‘टाइमलाइन’ सहितको विकास मोडल अघि सारेका छन् । उनको प्राथमिकतामा स्वच्छ खानेपानी र ग्रामीण अर्थतन्त्रको सुधार मुख्य रहेका छन् । नेपालगन्ज र क्षेत्र नम्बर २ का विद्यमान खानेपानी पूर्वाधारमा ‘आरो फिल्टर प्लान्ट’ जडान गरी प्रत्येक घरमा शुद्ध ‘ट्याप वाटर’ पु–याउने लक्ष्य उनले राखेका छन् । त्यस्तै, ग्रामीण अर्थतन्त्र बलियो बनाउन ‘फार्मर्स मार्केट’ (कृषक बजार) को नवीन अवधारणा मार्फत बिचौलियाको अन्त्य गरी कृषकको आम्दानी सिधै बढाउने र ग्रामीण क्षेत्रका स्कुल तथा स्वास्थ्य चौकीमा सरसफाइ र कृषि तालिमका कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ ।

प्रशासनिक सुशासनका क्षेत्रमा शाहले ‘सहायता कक्ष’ को मोडल प्रस्ताव गरेका छन् । मालपोत, नापी र प्रहरी कार्यालय जस्ता सरकारी निकायमा कानूनका विद्यार्थी र वकिलहरूलाई स्वयंसेवकका रूपमा परिचालन गरी सेवाग्राहीलाई सिधै सहयोग गर्ने प्रणालीले भ्रष्टाचार र ढिलासुस्तीलाई निरुत्साहित गर्ने उनको विश्वास छ । यसले सर्वसाधारणले कुनै ‘शक्तिशाली’ व्यक्तिको सहारा बिना नै सहजै सेवा पाउने र सरकारी संयन्त्रलाई ‘क्यु–फ्री’ तथा ‘डिजिटलाइज्ड’ बनाउन मद्दत पुग्ने देखिन्छ । संसदलाई केवल भाषण गर्ने थलो नभई ‘सामाजिक अभ्यास’ को केन्द्र मान्ने शाहले आफना व्यवहारिक र सफल मोडलहरूलाई राष्ट्रिय नीतिमा रूपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
प्रशासनिक सुशासन र बिचौलिया मुक्त ग्रामीण अर्थतन्त्रको मार्गचित्र सहित उनले आगामी निर्वाचनमा आफनो चुनावी चिन्ह ‘कप प्लेट’ मा मतदान गरी आफूलाई विजयी गराउन सम्पूर्ण मतदातामा अनुरोध गरेका छन् ।

‘सही उम्मेदवार छान्न मतदाताले विगतको आचरण, नीति, संवाद क्षमता, नैतिकता र राष्ट्रिय चेतनालाई आधार बनाउनुपर्छ, किनकि यो चुनाव सरकार बनाउने मात्र होइन, राजनीतिक संस्कार सुधार्ने अवसर पनि हो। ’उनले भने,‘पुराना र नया राजनीतिक शक्तिहरूबीचको प्रतिस्पर्धामा घृणा, बदला र भावनात्मक नाराले होइन, दीर्घकालीन सोच, संवाद र उत्तरदायित्वले मात्र देश निर्माण सम्भव छ।’

  • २० माघ २०८२, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२