नेपालगंन्ज ।
नेपाल सरकारका पूर्वमन्त्री तथा नेकपा (एमाले) बाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले गर्न बाँकी रहेका विकास निर्माणका कामलाई पूरा गर्न आफू पुनः जनताको अदालतमा उभिएको बताएका छन ।
नेपालगन्जमा आयोजना गरिएको कार्यकर्ता भेला र डुडुवामा आयोजना गरिएको जनभेलालाई आज आईतवार सम्बोधन गर्दै राईले आफूले विगतमा यस क्षेत्रको धेरै विकास गरेको स्मरण गर्दै बाँकी रहेका कामलाई पूरा गर्न उम्मेदवारी दिएको जिकिर गरे।
पूर्वमन्त्री राईले गत तीन वर्ष आफू सांसद नभएपछि यस क्षेत्रमा कुनै पनि विकास निर्माण हुन नसकेको बतादै पुनः विकासलाई तिव्रता दिन आफूलाई जनताको सहयोग चाहिएको बताए ।
आफूले सधैं विकास र सामाजिक सदभावको कामलाई प्राथमिकतामा राखेर जनसेवा गर्दैआएको प्रष्ट पार्दै राईले भने, “मैले सधैं विकास निर्माणलाई प्रमुख प्राथमिकतामा राख्दैआएको छु, तीन पटक मन्त्री हुँदा क्षेत्र र जिल्लाका लागि धेरै योजना ल्याएको हुँ । सामाजिक र धार्मिक सदभावका लागि पनि मैले सधैं सबैलाई एकजुट गर्दै आएको छु ।”
आफूले क्षेत्र र जिल्लाका लागि विगतमा गरेका कामको मुल्याङ्कनसँगै गत तीन वर्षको अवधिमा केही नभएको मुल्याङ्कन गरेर मतदान गर्न पूर्वमन्त्री राइले आग्रह गरे ।
नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का एमाले उम्मेदवार सूर्य ढकालले गत तीन वर्षको अवधीलाई मुल्याङ्कन गरेर मतदान गर्न जनतालाई आग्रह गरेका छ्न ।











