नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रवाह हुने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज नेपालगञ्जमा सम्पन्न भएको छ । बास नेपालको सहजीकरणमा भेरी प्राविधिक शिक्षालयमा भएको सुनुवाईमा भएको प्रश्नोत्तरको आधारमा ७ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।
घोषणा गरिएका प्रतिबद्धताहरुमा आमाको नामबाट नागरिकता कानुन बमोजिम प्रदान गर्ने कार्य सुरु भइसकेकाले सो प्रकारका नागरिकता प्रदान गर्न आवश्यक सहजीकरण गर्ने, सोही प्रकारले नागरिकता प्राप्त गर्न नसकेका ब्यक्तिहरुलाई नियमानुसार नागरिकता प्रदान गर्ने, प्रहरीको २४ घण्टा फोन उठ्ने १०० नम्बर व्यस्त भई नागरिकलाई गुनासो गर्न असहज भएको गुनासो सम्बन्धमा सो समस्या समाधानका लागि तत्काल पहल गर्ने, बढ्दो चोरी नियन्त्रणका लागि नागरिक स्तरबाट स्वजागरुकता अपनाउने र प्रहरीबाट बिशेष निगरानी गर्ने, विभिन्न क्षेत्रहरुमा भइरहेको अनैतिक क्रियाकलाप नियन्त्रणका लागि बिशेष अभियान सञ्चालन गर्ने, मालपोत, भूमिसुधारको सेवाबारे आइरहेको गुनासो सम्बन्धमा ध्यानाकृष्ट भई समस्या समाधानका लागि निरन्तर पहल गर्ने, सरकारी सवारी साधन दूरुपयोग रोकथामका लागि बिशेष निर्देशन भइसकेकाले सो सम्बन्धि सूचना जिल्ला प्रशासनलाई दिन अनुरोध गर्ने, जिल्ला प्रशासनमा दर्ता भएका गैससको विधान संशोधन भएमा नाम संशोधन गर्ने, प्रहरी प्रशासनको मातहतका कर्मचारीहरुबाट घुस मागेको गुनासो प्राप्त भएमा तत्काल कार्वाही गर्ने, जमुनाहा, जयसपुर नाकामा खटिने सुरक्षाकर्मीबाट घुस माग्ने गरेको गुनासो सम्बन्धमा सप्रमाण सूचना प्राप्त भएमा तत्काल कार्वाही गर्ने, डिजे, मोडिफाई बाइक नियन्त्रणका लागि बिशेष अभियान सञ्चालन गर्ने, सदरलाइनको अब्यवस्थित पार्किंगलाई ब्यवस्थित गर्न आवश्यक समन्वय गर्ने, बढ्दो लागुऔषध नियन्त्रणका लागि बिशेष पहल गर्ने, अपांगता भएका ब्यक्तिहरुको आवतजावतमा सहजकता ल्याउन सहजीकरण गर्ने र ट्राफिक सचेतना अभिबृद्धि गर्ने, जिल्ला प्रशासन कार्यालय बाँकेको संरचनालाई थप सेवाग्राहीमैत्री बनाउने, भेरी अस्पतालको सेवा प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने, मानव र बन्यजन्तु बीचको द्वन्द न्यूनीकरणका लागि बिशेष पहल गर्ने प्रतिबद्धता गरिएको छ ।
सुनुवाईको सुरुवातमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रदान गर्ने सेवाका बारेमा सुनुवाईका प्रमुख जवाफदेही बक्ता बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले प्रस्तुत गरेका थिए । बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सहजीकरण गरेको सुनुवाईमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । सुनुवाईका प्रमुख जवाफदेही बक्ता प्रमुख जिल्ला अधिकारी तामाङ, प्रहरी प्रमुख अंगुर जिसी र सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङले सुनुवाईमा उठेका प्रश्न, जिज्ञासाको जवाफ दिएको बासका सूचना अधिकारी हेमराज भट्टले बताए ।











