बर्दिया, असार २५। बर्दिया जिल्ला औपचारिक रूपमा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप पूरा गरेपछि जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।
बुधवार घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर बिष्टको अध्यक्षता तथा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायण प्रसाद चौधरीले बर्दियाको स्वास्थ्य अवस्था, खोप कार्यक्रमको उपलब्धि र पूर्णखोप सुनिश्चित अभियानबारे जानकारी दिनुभयो।
उहाँका अनुसार करिब ४ लाख ६० हजार जनसंख्या रहेको बर्दिया जिल्लामा ५० शय्याको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, चार नगर अस्पताल, २४ स्वास्थ्य चौकी, २३२ गाउँघर तथा खोप क्लिनिक, ८ सय ३६ महिला स्वास्थ्य स्वयंसेविका र करिब ४ सय स्वास्थ्यकर्मीमार्फत स्वास्थ्य सेवा प्रवाह भइरहेको छ।
चौधरीले जिल्लामा नियमित खोपको पहुँच ९० प्रतिशतभन्दा माथि रहेको जानकारी दिँदै नेपाल सरकारले हाल १३ प्रकारका रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराइरहेको बताउनुभयो। खोप कार्यक्रमकै प्रभावले नेपालबाट बिफर उन्मूलन, पोलियो निवारण, मातृ तथा नवजात शिशु टिटानस नियन्त्रण, दादुरा–रुबेला नियन्त्रणका साथै बाल तथा मातृ मृत्युदरमा उल्लेखनीय कमी आएको उहाँको भनाइ थियो।
उहाँले बर्दिया २०७२ सालमै पूर्णखोप जिल्ला घोषणा भइसकेको र विगत १० वर्षदेखि यसको दिगोपना कायम राख्दै आएको जानकारी दिनुभयो। यस वर्ष गरिएको घरधुरी सर्वेक्षण र लाइन लिस्टिङका क्रममा खोपबाट छुटेका बालबालिकाको पहिचान गरी सबैलाई पुनः खोपको पहुँचमा ल्याइएकाले पूर्णखोप सुनिश्चित जिल्ला घोषणा सम्भव भएको उहाँले बताउनुभयो।
गत आर्थिक वर्ष ० देखि ५९ महिनासम्मका ३० हजार ६ सय ७० बालबालिकामध्ये २ सय ३५ जना र चालु आर्थिक वर्षमा २८ हजार ५ सय ९९ बालबालिकामध्ये १ सय २८ जना खोपबाट छुटेको भेटिएको उल्लेख गर्दै चौधरीले ती सबै बालबालिकालाई पुनः खोप कार्यक्रममा समेटेर पूर्णखोप सुनिश्चित गरिएको जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि तेजबहादुर भाटले पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुनु बर्दियाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै नियमित खोप कार्यक्रमलाई निरन्तर प्रभावकारी बनाउन सबैको साझा जिम्मेवारी रहेको धारणा राख्नुभयो।
कार्यक्रमका अध्यक्ष सूर्यबहादुर बिष्टले स्थानीय तह, स्वास्थ्य कार्यालय, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायको समन्वय र प्रतिबद्धताका कारण बर्दियाले यो उपलब्धि हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा पनि पूर्णखोपको अवस्था कायम राख्न सबै पक्ष सक्रिय रहनुपर्ने बताउनुभयो।























