नेपालगंन्ज ।
बाँके निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरूले मतदाता भेटघाटलाई तीव्र बनाएका छन्। यसै क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपेन्द्र बिष्टले आध्यात्मिक गुरु स्वामी विवेकानन्दसँग भेटघाट गर्नुभएको छ।
नेपालगंन्जमा भएको उक्त भेटका क्रममा उम्मेदवार बिष्टले स्वामीजीसँग क्षेत्रको शान्ति, सामाजिक सद्भाव र समृद्धिका विषयमा आशिष् र मार्गदर्शन लिनुभएको थियो।
बहुधार्मिक र बहुसांस्कृतिक पहिचान बोकेको बाँके क्षेत्र नम्बर २ मा सामाजिक एकता कायम राख्न आध्यात्मिक केन्द्रहरूको भूमिका महत्त्वपूर्ण हुने बिष्टले बताउनुभयो।
भेटमा स्वामी विवेकानन्दले राजनीतिमा युवाहरूको सक्रियतालाई स्वागत गर्दै पद र शक्तिभन्दा माथि उठेर जनताको सेवामा समर्पित हुन सुझाव दिनुभयो।
उहाँले “नैतिकताविहीन राजनीतिले समाजलाई सही दिशा दिन नसक्ने“ भन्दै उम्मेदवार बिष्टलाई इमानदार प्रयासका लागि शुभकामना दिनुभयो।
बिष्टले आफ्नो ’भिजन’ प्रस्तुत गर्दै भौतिक विकास मात्र नभई जनताको मानसिक र आध्यात्मिक चेतना अभिवृद्धिका लागि पनि काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
बाँके २ मा यसपटक कडा प्रतिस्पर्धा देखिएको छ। नेकपाका तर्फबाट युवा उम्मेदवारका रूपमा मैदानमा उत्रिनुभएका बिष्टले विभिन्न धार्मिक तथा सामाजिक अगुवाहरूलाई भेटेर आफ्नो पक्षमा जनमत सिर्जना गरिरहनुभएको छ।
स्वामी विवेकानन्दसँगको यो भेटलाई चुनावी रणनीतिका रूपमा पनि अर्थपूर्ण मानिएको छ, जसले धार्मिक र आध्यात्मिक मतहरूलाई प्रभावित पार्न सक्ने स्थानीय विश्लेषकहरूको भनाइ छ।
भेटघाटपछि संक्षिप्त प्रतिक्रिया दिँदै बिष्टले भन्नुभयो, “स्वामीजीको आशीर्वाद र मार्गदर्शनले मलाई जनताको सेवामा लाग्न थप उर्जा मिलेको छ। हामी बाँकेलाई विकासको नमुना मात्र होइन, शान्ति र सद्भावको केन्द्र पनि बनाउनेछौँ।“











