६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार
नेपालगञ्ज उद्योग वाणिज्य संघले उम्मेदवारसंग “समृद्ध बाँके, समृद्ध नेपालगञ्ज” प्रतिवद्धता गरायाे
  • न्युज डेस्क

    २३ बैशाख २०७९, शुक्रबार

नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघले नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनमा सहभागि उम्मेदवारसंग ” समृद्ध बाँके, समृद्ध नेपालगञ्ज”लाई अभियानकै  रूपमा  प्रतिवद्धता खोजेको छ ।

समृद्ध नेपालगञ्जका लागि उम्मेदवारहरू संग कस्ता एजेण्डा छन् भन्ने विषयमा निजी क्षेत्रले बृहद छलफल समेत गरेका छन् । छलफलमा बिभिन्न दलका उम्मेदवारले आफ्ना एजेन्डा प्रस्तुत गरे भने त्यसपछि समृद्ध नेपालगञ्जका लागि १२ बुँदे सामुहिक प्रतिवद्धतामा हस्ताक्षर समेत गरेका छन् ।                                 

नेकपा एमालेका मेयर पदको उम्मेदवार पशुपति दयाल मिश्र, नेपाली काँग्रेसका प्रशान्त बिष्ट, राप्रपाका नन्दलाल बैश्य, राप्रपा नेपालका अभय बस्नेत, स्वतन्त्र दिनेश थापा र विकास बहादुर सिंहले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

उम्मेदवारहरु उद्योग, वाणिज्य, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास नै समृद्ध नेपालगन्जका आधार भएकोमा सहमत हुँदै पूर्वाधार विकासका लागि लाग्ने प्रतिवद्धता जनाए । उम्मेदवारहरु नेपालगञ्ज उपमहानगरपालिकाले व्यवसायिक कर वैज्ञानिक वर्गीकरणका आधारमा लिने विषयमा सहमत भए ।
त्यस्तै नेपालगञ्जको व्यावसायिक उत्थानका लागि तस्करी नियन्त्रणमा विशेष पहल गर्ने, नेपालगञ्जमा विशेष क्षेत्र पहिचान गरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने, भारतीय पर्यटकलाई सहज रुपमा आवतजावतमा सहजीकरण गर्न दिने, उपमहानगरपालिकाले प्रदान गर्ने सेवा, छरितो र प्रविधिमैत्री बनाउने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै सामाजिक विकास र आर्थिक सशक्तिकरणलाई विकासमा प्राथमिकता दिने, आयातमा निर्भर कृषि उपज विस्थापन गर्न कृषि क्षेत्रको व्यवसायिकरण गरी नेपालगञ्जका लागि स्थानीय उत्पादनलाई बढावा दिने, हरित नेपालगन्ज बनाउने, नेपालगञ्ज सहरलाई जडिबुटी प्रशोधन केन्द्रको हबको रुपमा विकास गर्ने, स्थानीय आवश्यकतामा आधारित औद्योगिक करिडोर निर्माण गर्ने र नगरको विकास योजना तर्जुमा र नीति निर्माण लगायतका विषयमा नेपालगञ्ज उद्योग वाणिज्य संघसँग समन्वय र सहकार्य गर्न तयार भएका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले समृद्ध नेपालगन्ज निर्माणका लागि नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग अपरिहार्य रहेको बताए । त्यसै कारणले संघले उम्मेदवारसंग प्रतिवद्धता खोजेको जानकारी दिए । संघका महासचिव चिरञ्जीवी ओलीले संघले पहिलो पटक समृद्ध बाँके निर्माणको अभियानलाई अघि बढाएको बताउँदै त्यसैको निरन्तरता स्वरुप समृद्ध नेपालगन्जका लागि उम्मेदवारको एजेन्डा माथि छलफल गराएको बताए ।

  • २३ बैशाख २०७९, शुक्रबार प्रकाशित
  • Nabintech