१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
हामीले नसक्ने र असम्भव योजनाहरूको लोभ देखाएर भोट माग्दैनौं: इश्तियाक राई
  • न्युज डेस्क

    २१ कार्तिक २०७९, सोमबार

बाँके- जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले भनेका सबै कामहरू पूरा गर्ने वाचा गरेका छन्।

निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा भएका कोणसभाहरूलाई सम्बोधन गर्दै उम्मेदवार राईले गर्न नसक्ने र भावनामा बगेर कुनै पनि सपना मतदातालाई नबाँडेको पनि बताए।

‘हामीले नसक्ने र असम्भव योजनाहरूको लोभ देखाएर भोट माग्दैनौं। जो गर्न सक्छौं, जे यहाँको विकासका लागि आवश्यक छ त्यहीमात्रै भन्छौं र गरेर पनि देखाउँछौं’ उनले भने ‘तपाईंहरूले देखिरहनुभएको छ, गर्छु र हुन्छ भनेका कामहरू भइरहेका छन्। ठूला बजेटका कामहरू गर्न केही समय लाग्छ तर ती पक्कै पूरा हुन्छन्।’

यो क्षेत्रको विकास र हरेक नागरिकको समृद्धिबाहेक आफूसँग कुनै पनि स्वार्थ नभएको भन्दै उनले विगतमा सुरू भएका विकासका योजनाहरू र आगामी दिनमा पनि यस क्षेत्रको समग्र विकासका लागि फेरि एकपटक चुनाव जित्न आवश्यक रहेको पनि बताए।

भौतिक योजना तथा यातायात मन्त्री हुँदा उनले शिलान्यास गरेका नेपालगन्जका दुई ठूला सडक आयोजनाहरूको काम आइतबारदेखि सुरू भएको छ।

उनले शिलान्यास गरेका जमुनाहा नाकादेखि राझासम्मको सडक अस्फाल्ट ओभर योजना र अन्तर्गत पुस्पलाल चोकदेखि सिधनिया हुलाकी सडक स्तरोन्नती योजनाको काम सुरू भएको हो।

सडक डिभिजन कार्यालयका अनुसार अस्फाल्ट ओभरले योजना करिब २४ करोड लागतमा सम्पन्न हुनेछ। रौताहा खड्का जेभी निर्माण कम्पनीले ठेक्का पाएको यो योजना अन्तर्गत उक्त सडकलाई थप बलियो र आधुनिक प्रविधिबाट बलियो पिच हुनेछ।

भौतिक योजना तथा यातायात मन्त्री हुँदा राईले ती सडक योजनाहरूको शिलान्यास गरेका थिए। त्यो बेला चुनावलाई ‘टार्गेट’ गर्दै शिलान्यास भएको भन्दै विपक्षीहरूले उनको विरोध गरेका थिए।

कतिपयले उनलाई ‘शिलान्यास मन्त्री’ भन्दै खिसी पनि गरेका थिए।

तर तत्कालीन मन्त्री राईले शिलान्यास भएका सबै विकासका आयोजनाहरूको बजेट सुनिश्चित भइसकेको र ठेक्का सम्झौताका सबै प्रक्रियाहरू सुरू भएको भन्दै ढुक्क हुन आग्रह गरेका थिए।

त्यो बेला शिलान्यास गरिएका सबै पुलहरू तथा अरू आयोजनाका कामहरू पनि चाँडै सुरू हुने राईले बताएका छन्।

‘झुठा सपना देखाउँदै भोट माग्न आएका उम्मेदवारहरूलाई तपाईंहरूले प्रश्न सोध्नुस्। कसले काम गर्नसक्छ र कसले सम्भावना बोकेको छ भनेर पनि मूल्याङ्कन गर्नुस्’ उनले भने ‘मैले विगतमा गरेका कामहरूको सूची तपाईंहरूकै हातमा छ। ती कामहरू कति सम्पन्न भइसकेका छन् कति हुने तरखरमा छन्। सबै काम हुन्छ। ढुक्क हुनुस् यो क्षेत्रको विकासका लागि मैले गरेका वाचाहरू खेर जान दिनेछैन।’

सोमबार निर्वाचन क्षेत्र नं २ भित्र पर्ने नेपालगन्ज उपमहानगर तथा डुडुवा गाउँपालिकाका विभिन्न वडाहरूमा मतदाता भेटघाट र कोणसभाहरू भएका थिए।

मतदातालाई सम्बोधन गर्दै राईले जसपाप्रति देखिएको उत्साह र विश्वासलाई आफूले जसरी भए पनि पूरा गरिछोड्ने बताए।

‘तपाईंहरूले देखाउनुभएको यो अगाध प्रेम अनि उत्साह र मप्रति गर्नुभएको भरोसालाई मैले हार्नेछैन’ उनले भने ‘यो विकासप्रतिको विश्वास हो। अझै विकासको चाहना हो र यो चाहनालाई मैले पूरा गर्नेछु। तपाईंहरूको भरोसा र आफूले गरेको वाचा पूरा गर्न सकिनँ भने तपाईंहरूले दिएको जस्तोसुकै सजाय पनि भोग्न तयार छु।’

  • २१ कार्तिक २०७९, सोमबार प्रकाशित
  • Nabintech