१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
मेरो गठबन्धन यो क्षेत्रका सबै जनतासँग छ : इश्तियाक राई
  • न्युज डेस्क

    १९ कार्तिक २०७९, शनिबार

बाँके।जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईलेआफूसँग एकमात्रै चुनावी अजेन्डा भएको बताएका छन्।
नेपालगन्जको वडा नं २० मा शुक्रबार साँझपख भएको एउटा चुनावीसभामा बोल्दै त्यो अजेन्डाबारे उम्मेदवार राईले भने ‘विकास, विकास र विकास…।’
विकासमा साझेदारी, जनताबीचको आपसी भाइचार र बाँकेवासीको समृद्धि बाहेक आफूले जनतालाई अरू कुनै दीवासपना नदेखाउने उनले बताए।
सत्ता र विपक्षीहरूले बनाएको गठबन्धन उम्मेदवारहरूसँग एक्दै भिडिरहेका उनले सधैं जनताको माझमा रहिरहने आफूलाई कुनै पनि दलहरूको गठबन्धन आवश्यक नभएको बताए।
‘यी सारा जनताको प्रेम, आशा र भरोसा नै मेरो लागि गठबन्धनभन्दा महान छ। म सधैं जनतासँगै छु र सधैं तपाईंहरूकै साथमा रहिरहनेछु’ उनले ‘कसले कुन पार्टीसँग गठबन्धन गरिरहेको छ त्यो कुराको मलाई कुनै चिन्ता छैन। किनकि मेरो गठबन्धन जनतासँग छ र जसको गठबन्धन जनतासँग हुन्छ उसले चुनाव हारेको इतिहास कतै छैन।’
अहिले बाँके क्षेत्र नं २ मा माओवादीकेन्द्र, एकीकृत समाजवादी जनमोर्चाको गठबन्धनले नेपाली कांग्रेसका सुदीप नरसिंह राणा र नेकपा एमालेले राप्रपाका उम्मेदवार धवल समशेर राणालाई समर्थन गरेको छ। २०७४ सालको निर्वाचनमा पनि उनी नेपाली कांग्रेस र राप्रपा तथा नेकपा एमालेका उम्मेदवारसँग एक्लै प्रतिष्पर्धा गरेर विजयी भएका थिए।
‘अहिले पनि कुनै दलहरूको समर्थनमा होइन, तपाईंहरू तमाम मतदाताको साथ र भरोसाले उम्मेदवार भएको छु’ उनले भने ‘यो चुनावमा म एक्लै छैन। तपाईंहरूजस्तै मेरो साथमा हज्जारौं मतदाता छन्। तपाईंहरूको यतिधेरै प्रेम छ कि यो नै मेरो लागि सबैभन्दा ठूलो विजय हो।’
करिब दुई साता लामो आक्रामक चुनावी घरदैलो अभियान सकेर जसपा क्षेत्र नं २ले चुनावी सभाहरू सुरु गरेको हो। निर्वाचन आयोगले बिहीबारदेखि मात्रै चुनावी आमसभाहरू गर्न अनुमति दिएको थियो। दोस्रो चरणको यो अभियान अब मौन अवधि सुरू हुनुभन्दा अघिसम्म चल्नेछ।
शुक्रबार बिहानैदेखि जसपाले क्षेत्र नं २का विभिन्न ठाउँहरूमा चुनावी कोणसभा, पार्टी प्रवेश कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रम गरेको थियो।
क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा सदस्यका उम्मेदवार आदेशकुमार अग्रवाल तथा समानुपातिक सांसदका उम्मेदवारलगायत नेता तथा कार्यकर्ताहरूका साथमा पुगेका प्रतिनिधिसभा उम्मेदवार राईले जनताका समस्या समाधान र विकासका मुद्दाबाहेक अरू कुरामा भ्रम छर्ने उम्मेदवारहरूलाई मंसिर ४ गते जवाफ दिन आग्रह गरे।
‘अहिले आउने उम्मेदवारहरूलाई तपाईंहरूले प्रश्न सोध्नुस्, अहिलेसम्म तपाईंले अनि तपाईंका पार्टी र नेताहरूले यहाँका लागि के के गरे? भनेर’उनले भने ‘अनि त्यसको जवाफ पनि आफै दिनुहोस् मंसिर ४ गते। त्यो दिन मतदातालाई दीवा सपनाहरू बाँड्नेलाई होइन, वास्तविकरूपमा काम गर्ने र विकास गरिरहेको उम्मेदवारलाई भोट दिनुहोस्।’
उनले आफूलाई कमजोर पार्नका लागि विपक्षी उम्मेदवारहरूले मतदाताहरूमा धार्मिक र साम्प्रदायिक मुद्दाहरू भड्काउन थालेको भन्दै त्यसप्रति सचेत रहन पनि अपिल गरे।
‘उहीहरूले तपाईंहरूलाई एकप्रकारको विष दिईरहेका छन्। यसले तपाईं हामीलाई मात्रै होइन सबैलाई सिध्याउनेछ’ उनले भने ‘हामीले केही भनेका छैनौं। मतदाता अब सचेत भइसकेका छन्। हामीले मात्रै विकासको नामा भोट दिनुस् भनिरहेका छौं। विकास कुनै धर्म वा सम्प्रदायको मात्रै होइन सारा नागरिकको अधिकार हो। हामी त्यही अधिकारको लागि लडिरहेका छौं।’

  • १९ कार्तिक २०७९, शनिबार प्रकाशित
  • Nabintech