(नेपालगंन्ज )
बर्दियाको बढैयाताल गाउँपालिका–३, सिमरास्थित श्री भवानी माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता भएका तथा विपन्न बालबालिकालाई झोला, कपडा तथा अन्य सामग्री वितरण गरिएको छ।
विद्यालयमा आयोजित कार्यक्रममा बालबालिकालाई १०५ थान झोला तथा कपडा, एक थान साउण्डबक्स र एक थान गितार वितरण गरिएको हो। बालबालिकालाई शैक्षिक गतिविधिमा प्रोत्साहन गर्ने तथा उनीहरूको आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले सामग्री वितरण गरिएको बढैयाताल गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकला विकले बताइन् ।
कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी प्रमुख अतिथि तथा ग्रेस कम्युनिटी नेपालका प्रबन्धक शेरबहादुर बोहरा विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिरुल हसन जागा, पूर्वअध्यक्ष दिलबहादुर केसी, समितिका सदस्य तथा कार्यपालिका सदस्य चन्द्रकला विक, पास्टर सोनु बराइली, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि तथा विद्यालयका शिक्षकशिक्षिकाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी अतिथिहरूले बालबालिकाको शिक्षा, क्षमता विकास र सामाजिक समावेशिताका लागि सबै पक्षले सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।
विद्यालयमा आयोजित उक्त सामग्री वितरण कार्यक्रमले बौद्धिक अपाङ्गता भएका तथा आर्थिक रूपमा विपन्न बालबालिकालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।





















