२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
घाइते आमाको खेतमा श्रम संस्कृति पार्टीका श्रमदाता, तीन दिन लगाएर भित्र्याए धान
  • न्युज डेस्क

    २३ कार्तिक २०८३, आईतवार

आमालाई चट्याङ लागेर गम्भीर घाइते भएपछि खेतमा पाकेको धान कसरी भित्र्याउने भन्ने चिन्तामा थिइन् १३ वर्षीया हिमानी शर्मा। परिवारमा धान काट्ने र भित्र्याउने अवस्था थिएन। पाकेर खेतमै रहेको धान नष्ट हुने चिन्ताले उनलाई सताइरहेको थियो। अन्ततः उनले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिन्।

हिमानीको यही आग्रहपछि श्रम संस्कृति पार्टी बाँकेका श्रमदाताहरू सहयोगका लागि खेतमै पुगे। उनीहरूले लगातार तीन दिनसम्म श्रमदान गरेर धान काट्ने, थ्रेसर लगाएर झार्ने र भित्र्याउने काम सम्पन्न गरेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका–२० की सुमित्रा बराल केही दिनअघि चट्याङ लागेर गम्भीर घाइते भएकी थिइन्। आमाको उपचार र स्याहारमा परिवार व्यस्त भएपछि खेतमा पाकेको धान काट्ने र भित्र्याउने काम प्रभावित भएको थियो। यस्तो अवस्थामा १३ वर्षीया छोरी हिमानीले सामाजिक सञ्जालमार्फत धान काट्न सहयोग गरिदिन सार्वजनिक आग्रह गरेकी थिइन्।

उनको आग्रहलाई स्वीकार गर्दै श्रम संस्कृति पार्टी बाँकेका नेता तथा कार्यकर्ताहरू नेपालगञ्ज–२०, राँझास्थित बरालको पाँच कठ्ठा खेतमा पुगेका हुन्।

पार्टीका जिल्ला अध्यक्ष श्रीमान थापामगरका अनुसार तीन दिनसम्म निरन्तर श्रमदान गरेर खेतको धान काट्ने, थ्रेसर लगाएर झार्ने र भित्र्याउने काम सम्पन्न गरिएको हो।

थापामगरको नेतृत्वमा पार्टीका अगुवा श्रमदाता चाँद खाँ, वरिष्ठ श्रमदाता मेराज अहमद हलवाई (हिमालय), प्रस्तावित केन्द्रीय सदस्य राजन राना मगर, जिल्ला उपाध्यक्ष मोहम्मद रहिस हलवाई, मेघराज सोनार, सचिव दण्डप्रसाद शर्मा, नगर श्रम संयोजक इम्तियाज राई र अस्लम अन्सारीलगायत श्रमदानमा सहभागी भएका थिए।

श्रमदानमा सहभागी प्रस्तावित केन्द्रीय सदस्य राजन राना मगरले समस्यामा परेका परिवारलाई सहयोग गर्नु श्रम संस्कृतिको मूल उद्देश्य रहेको बताउनुभयो। राजनीतिक गतिविधिमा मात्र सीमित नभई नागरिकका सुखदुःखमा साथ दिन श्रमदान अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ।

वरिष्ठ श्रमदाता मेराज अहमद हलवाईले हिमानीको आग्रहपछि आफूहरू सहयोगका लागि खेतमा पुगेको बताउनुभयो। पाँच कठ्ठा खेतको धान काट्नेदेखि भित्र्याउनेसम्मको काममा तीन दिन निरन्तर श्रमदान गरिएको उहाँले जानकारी दिनुभयो।

पार्टीका जिल्ला उपाध्यक्ष मोहम्मद रहिस हलवाईले सुमित्रा चट्याङ लागेर घाइते भएपछि परिवारलाई धान भित्र्याउन समस्या भएको जानकारी पाएलगत्तै सहयोगका लागि टोली परिचालन गरिएको बताउनुभयो। श्रमदाताहरूले धान काट्नेदेखि थ्रेसर लगाएर झार्नेसम्मका सबै काम सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार पार्टीले राजनीतिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने र अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले श्रमदान अभियान सञ्चालन गर्दै आएको छ। आवश्यक परेका ठाउँमा श्रमदाताहरू परिचालन गरेर सहयोगलाई निरन्तरता दिइने उहाँले बताउनुभयो।

यसअघि पनि श्रम संस्कृति पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले नेपालगञ्जको रामलीला मैदान सरसफाइ, बागेश्वरी मन्दिर परिसरको फोहोर व्यवस्थापन, बौद्ध गुम्बामा ढुङ्गा बोक्ने तथा सहरका विभिन्न स्थानमा सरसफाइका काम गरेका थिए।

पार्टीकी प्रस्तावित केन्द्रीय सदस्य कश्मिरा खातुनका अनुसार यस्ता सामाजिक कामलाई पार्टीले आफ्नो श्रमदान अभियानको निरन्तरताका रूपमा अघि बढाउँदै आएको छ।

हिमानीको एउटा सार्वजनिक आग्रहपछि तीन दिनसम्म चलेको यो सामूहिक श्रमदानले अप्ठ्यारोमा परेका परिवारलाई समुदायको साथ र सहयोग कति महत्वपूर्ण हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

  • २३ कार्तिक २०८३, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२