२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार
जातीय तथा लैंगिक विभेद अन्त्यका लागि धर्मगुरुसँग अन्तरसंवाद
  • न्युज डेस्क

    २१ आश्विन २०८३, बुधबार

नेपालगन्ज । जातीय छुवाछुत, लैंगिक विभेद, असमानता तथा धर्मका नाममा समाजमा देखिने अन्धविश्वास र विभेदकारी व्यवहार न्यूनीकरण गर्ने उद्देश्यले बाँकेका विभिन्न स्थानीय तहमा धर्मगुरुसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न गरिएको छ।

दलित महिला संघ ९फेडो० बाँकेको आयोजना तथा डिसिएको आर्थिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र बैजनाथ गाउँपालिकामा धर्मगुरुसँग अन्तरसंवाद गरिएको हो।

कार्यक्रममा हिन्दू, मुस्लिम, बौद्ध र इसाई धर्मका धर्मगुरु तथा अगुवाहरूलाई सहभागी गराई धर्म, समाज र विभेदका विषयमा खुला छलफल गरिएको थियो। कार्यक्रममा स्थानीय अगुवा, दलित महिला संघद्वारा सञ्चालित समूहका सदस्य तथा पदाधिकारी, दलित समुदायका प्रतिनिधि र अन्य सरोकारवालाको पनि सहभागिता रहेको थियो।

अन्तरसंवादका क्रममा धर्मगुरुहरूले आ–आफ्नो धार्मिक तथा सामाजिक दृष्टिकोण प्रस्तुत गरेका थिए। सहभागीहरूले भने समुदायमा आफूहरूले भोग्दै आएका जातीय विभेद, छुवाछुत, लैंगिक असमानता तथा धार्मिक मान्यतासँग जोडिएका अनुभव र प्रश्नहरू धर्मगुरुसमक्ष राखेका थिए।

छलफलमा धर्म के हो, धर्म र समाजबीचको सम्बन्ध कस्तो छ तथा धार्मिक मान्यता र सामाजिक व्यवहारले जातीय विभेदलाई कसरी प्रभाव पार्छ भन्ने विषयमा समेत बहस गरिएको थियो। धर्म समाजको महत्वपूर्ण पक्ष भएकाले धर्मका नाममा हुने विभेद, अन्धविश्वास र असमानता अन्त्यका लागि धार्मिक अगुवा र समुदायबीच प्रत्यक्ष संवाद आवश्यक रहेको सहभागीहरूले बताएका थिए।

जातीय छुवाछुत र विभेदकारी मानसिकता अझै समाजमा कायम रहेको अवस्थामा धार्मिक अगुवाहरूले समानता, सामाजिक न्याय र सद्भाव प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले कार्यक्रममार्फत उनीहरूलाई छलफलमा सहभागी गराइएको आयोजकले जनाएको छ।

धर्मका विषय मानिसका लागि संवेदनशील हुने भएकाले विवाद वा टकरावभन्दा संवाद र अन्तरसंवादका माध्यमबाट धर्मका आडमा हुने विभेद तथा असमानता न्यूनीकरण गर्ने उपाय खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।

  • २१ आश्विन २०८३, बुधबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२