(नेपालगंन्ज )
भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको पीडामा बाकेका चर्चहरुले पनि मानवीय सहयोगको हात अघि बढाएका छन् ।
बाके इसाई समाज चर्च गुठीले भोटेकोशी बाढीपीडितका लागि रु. ५ लाख १९ हजार ८८७ आर्थिक सहयोग गरेको छ ।
विपद्का बेला धर्म, जात, समुदाय र भूगोलको सीमाभन्दा माथि उठेर पीडितको साथमा उभिनुपर्छ भन्ने मान्यतासहित चर्चले सहयोग गरेको हो ।
बँके इसाई समाज चर्च गुठीका अध्यक्ष सेरबहादुर बोहराको नेतृत्वमा गुठीका पदाधिकारी तथा सदस्यहरूको संयुक्त टोलीले जिल्ला प्रशासन कार्यालय बाके पुगेर उक्त सहयोगको भौचर प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई हस्तान्तरण गरेको हो ।
बाढीबाट प्रभावित परिवारको राहत तथा पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले गुठीले उक्त रकम उपलब्ध गराएको हो ।
प्राकृतिक विपद् कुनै व्यक्ति, समुदाय वा धर्म हेरेर आउने विषय होइन। बाढीले घर बगाउँदा पीडितको परिचय सोध्दैन, जीविकोपार्जनको आधार खोसिँदा उसको धर्म वा समुदाय खोज्दैन ।
यही यथार्थलाई आत्मसात गर्दै संकटमा परेका नागरिकको दुःखलाई साझा दुःखका रूपमा लिएर सहयोग गर्नु नै मानवीय धर्म भएको सन्देश बाके इसाई समाज चर्च गुठीको यो अभियानले दिएको छ ।
विपद्को समयमा राज्यका निकायसँगै धार्मिक, सामाजिक तथा नागरिक संस्थाहरूले हातेमालो गर्न सके राहत र पुनस्र्थापनाको अभियान अझ प्रभावकारी बन्न सक्ने अपेक्षा गरिएको छ ।
भोटेकोशी बाढीले प्रभावित परिवारका लागि अहिले तत्कालीन राहतसंगै दीर्घकालीन पुनस्र्थापनाको आवश्यकता छ ।
बाके इसाई समाज चर्च गुठीको यो पहलले धार्मिक आस्थालाई सामाजिक सेवासँग जोड्दै “मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो” भन्ने भावनालाई व्यवहारमा उतारेको देखिन्छ । आफनो समुदायभित्र मात्र सीमित नरही प्राकृतिक विपद्मा परेका अन्य समुदायका नागरिकको पीडामा समेत साथ दिनु सामाजिक उत्तरदायित्वको सकारात्मक उदाहरण हो ।





















