२२ भाद्र २०८३, सोमबार
२२ भाद्र २०८३, सोमबार
जानकी गाउँपालिकाको स्वास्थ्य र सामाजिक सेवामा प्रगति
  • न्युज डेस्क

    २२ भाद्र २०८३, सोमबार

बाँकेको जानकी गाउँपालिकाले गत आर्थिक वर्षमा स्वास्थ्य सेवा, सामाजिक सुरक्षा तथा महिला–बालबालिका सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार स्वास्थ्य संस्थामार्फत १८ हजार ७५० जनालाई ओपीडी सेवा प्रदान गरिएको छ। यस्तै १ हजार ५२२ बालबालिकाले पूर्ण खोप, ४३८ गर्भवती महिलाले चार पटक गर्भजाँच (एएनसी) तथा ३६६ महिलाले सुरक्षित संस्थागत प्रसूति सेवा प्राप्त गरेका छन्। साथै ११ हजार ३८५ जनाले आयुर्वेद सेवा र ४३६ जनाले भिडियो एक्स–रे सेवा लिएका छन्।

महिला, बालबालिका तथा सामाजिक सुरक्षातर्फ ६४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ भने ८७ किशोरीलाई घरेलु स्यानिटरी प्याड निर्माण तालिम र १० किशोरीलाई आधारभूत ब्युटिसियन तालिम प्रदान गरिएको छ। लैङ्गिक हिंसा न्यूनीकरणका लागि सबै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै हिंसा प्रभावित तथा बाल संरक्षण कोषमार्फत आर्थिक सहयोगसमेत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि ह्विलचेयर, ट्राइसाइकल, बैशाखी, क्रचर र सेतो छडी वितरण प्रक्रिया अघि बढाएको छ। सुरक्षित वैदेशिक रोजगार प्रवर्द्धनअन्तर्गत ५९ वटा श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति जारी गरिएको छ भने वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तीन श्रमिकका परिवारले वैदेशिक रोजगार बोर्डमार्फत जनही १० लाख रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले सीमित स्रोत–साधनका बाबजुद स्वास्थ्य, सामाजिक सुरक्षा र रोजगारीका सेवालाई प्रभावकारी बनाइएको बताउनुभयो। गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि स्वास्थ्य सेवा सुदृढीकरण, सामाजिक संरक्षण तथा महिला र बालबालिका सशक्तीकरणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

  • २२ भाद्र २०८३, सोमबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२