बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–३, भवनियापुरमा आइतबार मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषयमा सरोकारवालाबीच विस्तृत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वन क्षेत्रसँग जोडिएका बस्तीहरूमा पछिल्लो समय वन्यजन्तुको आवागमन बढ्दै जाँदा मानवीय क्षति, बालीनाली नोक्सानी तथा जनधनको जोखिम बढेको भन्दै समाधानका उपाय खोज्न कार्यक्रम आयोजना गरिएको हो।
श्री जागृति सामुदायिक वन उपभोक्ता समूहको भवनमा सम्पन्न कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, वन कार्यालयका अधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्वलाई सहअस्तित्वको आधारमा समाधान गर्नुपर्ने विषयमा गम्भीर छलफल गरिएको थियो।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा वडा नम्बर ३ का वडा सदस्य पूर्णबहादुर चौधरीले वन क्षेत्र नजिकका बस्तीमा बसोबास गर्ने समुदायले दैनिक रूपमा जोखिमपूर्ण अवस्था भोगिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “रातको समयमा जंगली जनावर बस्ती पस्ने, बालीनाली नष्ट गर्ने र मानिसहरू त्रसित हुने अवस्था छ। स्थानीय तहदेखि प्रदेश सरकारसम्मको समन्वयबिना समस्या समाधान सम्भव छैन।”
सिक्टा सबडिभिजनका प्रमुख वरिष्ठ वन अधिकृत श्यामदेव यादवले मानव–वन्यजन्तु द्वन्द्व बढ्नुका कारणबारे प्रकाश पार्दै वन्यजन्तुको व्यवहार बुझेर मात्र समाधान सम्भव हुने बताउनुभयो। “वन क्षेत्र अतिक्रमण, प्राकृतिक बासस्थान संकुचन र अव्यवस्थित विकासका कारण द्वन्द्व बढेको छ,” उहाँले भन्नुभयो, “मानवीय चेतना अभिवृद्धि र समुदायको सक्रिय सहभागिताबाट मात्र संरक्षण सम्भव हुन्छ।”

बागेश्वरी साव उषाकी सचिव मिना थारुले मानव–वन्यजन्तु द्वन्द्वको असर महिला र बालबालिकामा बढी पर्ने गरेको उल्लेख गर्नुभयो। “दाउरा, घाँस र खेतीपातीका क्रममा महिलाहरू बढी जोखिममा पर्छन्,” उहाँले भन्नुभयो, “समुदायस्तरमै सुरक्षित अभ्यास र चेतनामूलक कार्यक्रम आवश्यक छ।”
सिख सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा पालिकास्तरीय संयोजक कमल बस्नेतले सामुदायिक वनहरूबीच समन्वय गरेर दीर्घकालीन योजना बनाउनु पर्ने आवश्यकता औंल्याउनुभयो। “एकल प्रयासले समस्या समाधान हुँदैन,” उहाँले भन्नुभयो, “साझा रणनीति र दीर्घकालीन सोच अपरिहार्य छ।”
सरस्वती सामुदायिक वन उपभोक्ता समूहकी अनुगमन समिति संयोजक सरस्वती थारुले संरक्षणसँगै समुदायको जीविकोपार्जन सुरक्षित हुनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार वैकल्पिक आयआर्जनका अवसर सिर्जना नगरी संरक्षण दीगो हुन सक्दैन।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य कृष्ण केसी ‘नमुना’ ले मानव–वन्यजन्तु द्वन्द्व गम्भीर सामाजिक तथा वातावरणीय चुनौती बन्दै गएको बताउनुभयो। उहाँले भन्नुभयो, “मानव र वन्यजन्तु दुवैलाई बाँच्न पाउने अधिकार छ। सबैको जीवन महत्त्वपूर्ण छ।” साथै उहाँले यस विषयमा प्रदेश सरकारको तर्फबाट नीति, कार्यक्रम र बजेटमार्फत सक्दो पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विकासका लागि हाम्रो प्रयास नेपाल बर्दियाद्वारा आयोजना गरिएको उक्त कार्यक्रम डिभिजन वन कार्यालय बाँकेको आर्थिक सहयोगमा सम्पन्न भएको हो। कार्यक्रम विकासका लागि हाम्रो प्रयास नेपालका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको थियो।
अन्तरक्रियामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका सवालमा राज्यलाई गम्भीर बनाउने, स्थानीय तहमा संरक्षणका कामहरू अघि बढाउने, जोखिम न्यूनीकरणका अभ्यासहरू अपनाउने तथा दीर्घकालीन समाधानका उपायहरू खोज्नुपर्ने विषयमा सहभागीहरूले सामूहिक धारणा व्यक्त गरेका थिए।
२५ जनाको सहभागिता रहेको कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, उपभोक्ता, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।











