बाँकेको खजुरा गाउँपालिकाले पालिकाभित्रका २६ वटा सामुदायिक विद्यालयहरूमा खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट ५ वर्षका लागि प्रधानाध्यापक (प्रअ) नियुक्त गरेको छ।
शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनको व्यवस्था अनुसार गाउँपालिकाले गत साउन १८ गते सूचना प्रकाशित गरी प्रक्रिया अगाडि बढाएको थियो। कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि पूरा गरेका शिक्षकहरूले पेस गरेको ‘विद्यालय विकास प्रस्ताव’को मूल्याङ्कन तथा विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा कार्यसम्पादन करार सम्झौता गरी २६ जना प्रधानाध्यापक चयन गरिएको हो।
गाउँपालिकाका अध्यक्ष डम्बर बिक (तुफान) ले शैक्षिक सुधारका लागि यो कदम कोशेढुङ्गा साबित हुने बताउनुभएको छ।
अध्यक्ष तुफानका अनुसारः ”हामीले कुनै राजनीतिक प्रभाव वा पहुँचका आधारमा नभई विशुद्ध क्षमता, कार्ययोजना र नियमानुसार प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरेका छौँ। विद्यालयको शैक्षिक वातावरण सुधार्न र गुणस्तरीय शिक्षा प्रदान गर्न नवनियुक्त प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार गरिएको छ। अब विद्यालयमा परिणाम देखिनुपर्छ, शिक्षाको गुणस्तरमा गाउँपालिकाले कुनै पनि किसिमको सम्झौता गर्ने छैन।”
अध्यक्ष तुफानले नियुक्त हुनुभएका सम्पूर्ण प्रधानाध्यापकहरूलाई बधाई दिँदै कार्यसम्पादन करार बमोजिम विद्यालयको प्रशासनिक, भौतिक तथा शैक्षिक सुधारमा पूर्ण जिम्मेवारीका साथ लाग्न निर्देशनसमेत दिनुभएको छ।





















