बर्दियामा गुणस्तरीय धानको बिउ उत्पादन बढ्दै,
बर्दिया, असार ३० बर्दियामा गुणस्तरीय धानको बिउ उत्पादन तथा वितरणमा सक्रिय पब्लिक बिउ कम्पनीहरूले सरकारी अनुदान र सहयोग बढाउने कृषकहरुले माग गरेका छन्। भारतीय विउँलाई निरुत्साहित गर्दै गणेश बाबा एग्रोभेट कम्पनी लिमिटेडका अध्यक्ष पहारी चौधरीले किसानसँग प्रत्यक्ष रूपमा जोडिएका पब्लिक बिउ कम्पनीलाई सहकारी वा कृषक समूहसरह सरकारी मान्यता र अनुदान नदिइनु दुःखद भएको बताउनुभयो। उहाँले कम्पनीले राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामार्फत ट्रान्सफर्मरका लागि ७ लाख ५० हजार रुपैयाँ तथा बिउ उत्पादन विस्तारका लागि ४ लाख १९ हजार रुपैयाँ अनुदान पाए पनि कम्पनीको आवश्यकता र योगदानको तुलनामा यो पर्याप्त नभएको उल्लेख गर्नुभयो।
अध्यक्ष चौधरीका अनुसार कम्पनीले वार्षिक करिब ४ हजार ५ सयदेखि ५ हजार क्विन्टल धान मौज्दात राख्दै आएको छ। उत्पादनमध्ये करिब ३० प्रतिशत बर्दियामै खपत हुने र बाँकी कैलाली, कञ्चनपुर, बाँके, बारा तथा पर्सा जिल्लामा बिक्री–वितरण गरिँदै आएको छ। कम्पनीले राधा–४ लगायत उन्नत जातका साथै मसिनो बास्नादार र मोटा धानको बिउ उत्पादनमा पनि काम गरिरहेको जनाएको छ।
यस्तै, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ बर्दियाका प्रमुख विरेन्द्रराज पराजुलीका अनुसार बर्दियामा वर्षेनी करिब ५० हजार हेक्टर क्षेत्रफलमध्ये ९० देखि ९५ प्रतिशत जमिनमा धान खेती हुने भएकाले करिब २ हजार ५ सय टन धानको बिउ आवश्यक पर्छ। हाल कार्यक्रममार्फत १०० हेक्टर क्षेत्रमा बिउ उत्पादन गरिएको र प्रतिहेक्टर औसत २ दशमलव ५ टनका दरले करिब २५० टन बिउ उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो।
उत्पादित बिउ जिल्लाको आवश्यकता पूरा गरेपछि बाँकी परिमाण छिमेकी जिल्लामा बिक्री–वितरण हुँदै आएको कार्यक्रम कार्यान्वयन एकाइले जनाएको छ।






















