नेपालगञ्ज।
बाँके जिल्लामा एक महिलाले वैवाहिक जबरजस्ती करणीको शिकार भएकी न्याय नपाएको भन्दै उच्च अदालत तथा न्यायपरिषदमा निवेदन पेश गरेकी छन्।
पीडित महिलाका अनुसार, उनी २०७४ सालमा समाजिक परम्परा अनुसार विवाह गरेकी थिइन्। तर, मिति २०८२।०६।०७ गते साँझ करिब ६ बजे आफ्नै घरमा श्रीमान गणेशपुर (परिवर्तित नाम) द्वारा उनको इच्छा विपरित गाली–गलौज र धकेल–पकेल गरी जबरजस्ती करणी गरिएको थियो। घटनापछि पीडितले तुरुन्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दर्ता गराएकी थिइन्।
जाँचपछि मुद्दा जिल्ला सरकारी वकिल कार्यालय बाँकेमा मिसिल पेश भएको थियो। तर, बाँके जिल्ला अदालतका न्यायधिशले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्नुको सट्टा आर्थिक धरौटीमा छाड्ने आदेश दिएको थियो।
न्याय नपाएको भन्दै पीडित महिलाले उच्च अदालत र न्याय परिषदमा आफ्नो पीडा उजागर गर्दै प्रतिवादीलाई थुनामा राखेर उचित कारबाही गर्न र आफूलाई न्याय दिलाउन निवेदन पेश गरेकी छन्। निवेदनमा उनले मुद्दासँग सम्बन्धित सम्पूर्ण प्रमाण, फोटो र कागजात संलग्न गरेकी छिन्।
पीडितका अनुसार, घटनाले उनको मानसिक र सामाजिक जीवनमा गम्भीर असर पारेको छ र उनी न्याय पाउने आशामा उच्च निकायको ध्यानाकर्षण गराउन चाहन्छिन्।











