(नेपालगन्ज)
आचारसंहिता उल्लङ्घन गर्ने र पालना नगर्नेलाई निर्वाचन आयोगले जरिवाना गराउन सक्ने र कारबाहीसम्म गर्न सक्ने अधिकार दिएकोले पहिलो पटक सम्झाउने, बुझाउने, विभिन्न सामाजिक सञ्जालमार्फत गरिएका द्वेषपूर्ण अभिव्यक्तिलाई हटाउन लगाउने र पटक–पटक त्यस प्रकारका घटना दोहोरिएको पाइएमा कानुनी दायरामा ल्याइने भएको छ ।
बँकेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले निर्वाचनको आचारसंहिताविरुद्ध कसैले द्वेषपूर्ण अभिव्यक्ति नदिन आग्रह गरेका छन् ।
इन्सेक लुम्बिनी प्रदेशले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको “निर्वाचन आचारसंहिता कानुनी व्यवस्था र व्यावहारिक अभ्यास” विषयक अन्तरक्रिया कार्यक्रममा आचारसंहिता अनुगमन अधिकृत खत्रीले भने, “बाकेमा फागुन ४ गतेसम्मको अवस्था हेर्दा र समीक्षा गर्दा आचारसंहिता पालना सन्तोषजनक नै देखिएको छ ।
केही उम्मेदवारले अन्य उम्मेदवारप्रति द्वेषपूर्ण अभिव्यक्ति दिएको र ती अभिव्यक्तिलाई मिडियाहरूले प्रसारण गरेको पाइएको छ, उम्मेदवारहरू मात्र नभएर हरेक व्यक्तिले आचार संहिताविरुद्ध हुनेगरी अभिव्यक्ति नदिनुहोला ।’
उनले विगत वर्षहरूभन्दा यसवर्ष आयोगले नै उम्मेदवारको प्रचार–प्रसार खर्चमा न्यून खर्च गर्न पाउने व्यवस्था गरेका कारण केही आर्थिक अनुशासन देखिएको उल्लेख गर्दै हरेक उम्मेदवार आर्थिक अनुशासन पालना गर्दै पारदर्शीता देखाएको बताए ।
अनुगमन अधिकृत खत्रीले बाँकेका केही छापाखानाले आचारसंहिता विपरीत टोपी, झण्डा, टिसर्ट लगायतका निर्वाचन सामग्रीहरू छापिरहेको भन्ने सूचना आएको पनि जानकारी दिनुभयो । “जिल्लाका केही छापाखानाहरूले आचारसंहिता विपरीत उम्मेदवारका निर्वाचन सामग्रीहरू छापेको भन्ने सूचना प्राप्त भएको छ, उनीहरूलाई एकपटकलाई सम्झाएका छौ, फेरि पनि दोहोरिएमा प्रहरीलाई स्पष्टसंग छापा हान्न र कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छौ।”
जिल्ला निर्वाचन कार्यालय बँकेका जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले पर्यवेक्षक, सञ्चार क्षेत्र, राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायलाई आचारसंहिता विपरीतका गतिविधिहरू नगर्न आग्रह गरे।
उनले जिल्लामा मतदाता शिक्षा अभियान पनि सञ्चालन भइसकेको जानकारी दिँदै आम जनतासम्म सकारात्मक सन्देश फैलाउन मिडियाको प्रमुख भूमिका हुने हुदा मिडियालाई संयमित भएर निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्न आग्रह अनुरोध गरे ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले आचारसंहिता पालना गरे–नगरेको अवस्था तथा पालना गरे के हुने र नगरे के हुने भन्ने विषयमा स्पष्ट हुन जरुरी रहेका कारण कार्यक्रमको आयोजना गरिएको बताए ।
राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारीले सबै सरोकारवालाले आचारसंंहिता अध्ययन गरेर पूर्णरूपमा पालना गरे उल्लङ्घनका घटनाहरू नहुने भन्दै हरेक व्यक्तिले आफना विचार धारणा राख्न पाउने तर विचारलाई दूरुपयोग गर्न नपाइने भन्दै कसैको पनि गोपनीयतालाई भङ्ग हुने खालका कार्यहरू गर्न नहुने तर्क राखीन् ।










