(नेपालगंन्ज )
नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सुमन मल्ल पछिल्लो समय चर्चाको केन्द्रमा छन्। उनको उम्मेदवारीसंगै क्षेत्र नं. ३ मा चुनावी माहोल तातेको छ भने विशेषगरी युवा पुस्तामा नयँ आशा र उत्साह देखिएको छ।
उमेरले युवा भए पनि कामले परिपक्व मल्ललाई बुढापाका, युवादेखि मध्यम वर्गसम्मले भरोसाको पात्रका रूपमा लिएका छन्। जनताका बीच सहज रूपमा भेटिन सक्ने, समस्या सुन्ने र समाधानमा सक्रिय रहने स्वभावका कारण उनी लोकप्रिय बन्दै गएका हुन्। भाषणमा भन्दा काममा विश्वास गर्ने मल्ल अनावश्यक प्रचार र चर्चामा भन्दा परिणाममुखी कामलाई प्राथमिकता दिन्छन्।
‘म भाषणभन्दा काममा विश्वास गर्छु। आवश्यकताको समयमा जनताको भर बन्न सक्नुपर्छ भन्ने मेरो मान्यता हो,’ मल्ल भन्छन्, ‘मेरो उम्मेदवारी जनताले म प्रतिको भरोसाका रूपमा लिएको निर्णय हो। यही भरोसालाई जितमा बदल्दै जनताको सेवामा लाग्ने मेरो लक्ष्य छ।’
सामाजिक सेवा, दिनदुःखीको सहयोग र स्थानीय समस्यामा सक्रिय सहभागिताले पनि मल्लको जनसमर्थन बढाएको छ। एमालेको मेरुदण्ड मानिने युवा संघ र युथ फोर्समा लामो समय ऊर्जा खर्चिएका मल्ल पार्टीभित्र मात्र होइन, पार्टी बाहिर पनि सफल युवा व्यवसायीका रूपमा परिचित छन्।

वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा खजुरा गाउँपालिका–१ बाट वडा अध्यक्ष निर्वाचित भएपछि मल्लको कार्यशैलीले जनताको ध्यान खिचेको थियो। वडामा उनले गरेका विकास निर्माण, सेवा प्रवाह र जनउत्तरदायी कामहरूले मतदाताको विश्वास जित्न सफल भएको स्थानीयहरू बताउँछन्। वडाध्यक्ष रहँदा उनले जनतासँगको प्रत्यक्ष सम्बन्धलाई राजनीतिक पूजीमा रूपान्तरण गर्न सकेका थिए।
वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा खजुरा गाउँपालिकाको अध्यक्षमा पराजय भोग्नुपरे पनि त्यसको प्रमुख कारण नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन रहेको मल्ल पक्षको बुझाइ छ। अहिले गठबन्धन नभएकाले यो निर्वाचन मल्लका लागि अनुकूल परिस्थिति बनेको विश्लेषण गरिएको छ।
यो पटक प्रदेशसभा निर्वाचन नहुनु र कुनै दलबीच गठबन्धन नबनिनुले एमालेले आफ्नो सम्पूर्ण शक्ति प्रतिनिधिसभा उम्मेदवार मल्लको पक्षमा केन्द्रित गर्न सक्ने अवस्था बनेको छ। यसले पनि मल्लको चुनावी सम्भावना बलियो देखिएको छ।
बाँके क्षेत्र नं. ३ मा कांग्रेसका अमरसिंह पुन, रास्वपाका खगेन्द्र सुनार, नेकपाका दीपक जिएमलगायत झण्डै दुई दर्जन उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तर अघिल्लो निर्वाचन जितेका कांग्रेसका निवर्तमान सांसद राठौर क्षेत्र परिवर्तन गरी बर्दिया गएको अवस्थामा मल्ललाई नयाँ अनुहारहरूसंगको प्रतिस्पर्धा त्यति चुनौतीपूर्ण नदेखिएको राजनीतिक विश्लेषकहरू बताउछन्।

इतिहासले पनि बाके क्षेत्र नं. ३ लाई कम्युनिष्ट आन्दोलनको पाठशालाका रूपमा चिनाउँछ। माओवादीसँगको पार्टी एकता र त्यसपछिको विभाजनले केही समय संगठन कमजोर भए पनि अहिले एमाले यहा पुनः संगठित र सशक्त अवस्थामा रहेको दाबी गरिएको छ।
मतदाताको चाहना युवा, नयँ र काम गरेर देखाएका उम्मेदवारतर्फ केन्द्रित भएकाले एमालेले टिकट वितरणमा समय लिएको थियो। यही कारण मल्लको आधिकारिक उम्मेदवारी केही ढिलो सार्वजनिक भए पनि उनको मैदान प्रवेशसँगै क्षेत्र नं. ३ मा ठूलो राजनीतिक हलचल आएको छ। प्रतिस्पर्धीहरूका लागि यो ठूलो झट्काका रूपमा हेरिएको छ।
युवा पुस्ताको चाहना, अघिल्लो कार्यकालको अनुभव र वर्तमान राजनीतिक परिस्थितिले बँके–३ मा एमालेका सुमन मल्ललाई दरिलो र भरोसायोग्य उम्मेदवारका रूपमा उभ्याएको छ।‘मेरो लागि जनता नै सर्वोच्च हुन्। चुनाव जनताको मतले जितिन्छ,’ मल्ल भन्छन्, ‘मैले मेरो कामबाट धेरैको मन जितेको छु। ती मनहरू नै मेरा सच्चा मत हुन्।’











