(नेपालगञ्ज)
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित मोहनपुरमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक अन्तरक्रिया तथा समुदायस्तरमा बानी–व्यवहार परिवर्तन (Behavior Change Campaign) सम्बन्धी कार्यक्रम शनिबार सम्पन्न भएको छ।

कार्यक्रममा राप्ती सब–डिभिजन वन कार्यालयका प्रमुख राम गणेश शाहले मानव–वन्यजन्तु द्वन्द्वबाट हुने क्षति, राहत तथा क्षतिपूर्ति पाउने प्रक्रिया बारे सहजीकरण गर्नुभयो। उहाँले भन्नुभयो, “वन्यजन्तुबाट मानवीय क्षति वा सम्पत्तिमा क्षति भएमा सरकारले व्यवस्था गरेको राहत तथा क्षतिपूर्ति पाउन सकिन्छ। त्यसका लागि घटना घटेको तुरुन्त जानकारी गराउनु र आवश्यक प्रक्रिया पूरा गर्नु जरुरी हुन्छ।”
उहाँले समुदाय सचेत नभएसम्म द्वन्द्व न्यूनीकरण सम्भव नहुने उल्लेख गर्दै वन्यजन्तुको बासस्थान नजिक जोखिमपूर्ण गतिविधि नगर्न र सुरक्षित व्यवहार अपनाउन आग्रह गर्नुभयो।वडा नम्बर ६ वडा सदस्य नरबहादुर पुनले विगतमा वन्यजन्तुका कारण भोग्नुपरेका समस्या सुनाउँदै यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने माग गर्नुभयो।

राप्ती पीडित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदनकुमार बुढाले वन नजिक बसोबास गर्ने समुदाय सधैं जोखिममा रहने उल्लेख गर्दै,
“यस्ता सचेतनामूलक कार्यक्रमले हामीलाई सुरक्षित रहने उपाय र कानुनी अधिकारबारे बुझ्न सहयोग पुर्याएको छ,”भन्नुभयो। उपाध्यक्ष गंगाचन्द्र ठकुरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि समुदाय, वन कार्यालय र स्थानीय तहबीच निरन्तर समन्वय आवश्यक रहेको बताउँदै, “वन संरक्षण र मानव सुरक्षालाई सँगसँगै लैजान सके मात्र दीर्घकालीन समाधान सम्भव हुन्छ,”भन्नुभयो। खप्तड सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोविन्द दहितले व्यवहार परिवर्तनमा जोड दिँदै,“असावधानीका कारण द्वन्द्व बढेको छ, अब हामी सबैले आफ्नै बानी–व्यवहार सुधार गर्नुपर्छ,भन्नुभयो।सिद्धेश्वरी सामुदायिक वन उपभोक्ता समूहकी सचिव कमला पतिकले महिलाहरू वन्यजन्तु द्वन्द्वबाट बढी प्रभावित हुने बताउँदै,“दाउरा, घाँस र खेतीपातीका क्रममा महिलाहरू जोखिममा पर्ने भएकाले महिला लक्षित सचेतना कार्यक्रम आवश्यक छ,”भन्नुभयो।

कार्यक्रममा सहभागीहरूले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सामूहिक प्रयास, सुरक्षित व्यवहार र समुदायस्तरमा व्यवहार परिवर्तन अपरिहार्य रहेको निष्कर्ष निकालेका थिए। कार्यक्रमले स्थानीय समुदायमा सचेतना अभिवृद्धि गर्नुका साथै मानव र वन्यजन्तुबीच सुरक्षित सहअस्तित्वको सन्देश दिएको आयोजक संस्थाले जनाएको छ।
डिभिजन वन कार्यालय बाँकेको सहयोग तथा विकासका लागि हाम्रो प्रयास नेपाल, बर्दिया को आयोजनामा सम्पन्न उक्त कार्यक्रम विकासका लागि हाम्रो प्रयास नेपाल बर्दियाकी अध्यक्ष मेनका चौधरीको अध्यक्षतामा भएको कार्यक्रम रूपा गहतराजले सञ्चालन
गर्नुभएको थियो।











