बाँके । डुडुवा गाउँपालिका–४ मा घटेको घटनालाई लिएर जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै पार्टी नेतृत्वलाई जोडेर आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।
जसपाले जारी गरेको विज्ञप्तिमा मिति २०८२ साल पुष २५ गते काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा विभिन्न सामाजिक सञ्जालमार्फत प्रसारित समाचारमा पार्टीका महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको नाम जोड्दै पीडित परिवारलाई मुद्दा दर्ता नगर्न दबाब दिएको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरिएको छ। पार्टीका अनुसार उक्त समाचार तथ्यहीन, भ्रामक र कपोलकल्पित छन्।
विज्ञप्तिमा बलात्कारजस्ता गम्भीर र संवेदनशील अपराधमा जोसुकै संलग्न भए पनि कानुनअनुसार निष्पक्ष कारबाही हुनुपर्नेमा पार्टीको स्पष्ट र दृढ अडान रहेको उल्लेख गरिएको छ। कानुनी राज्य र संविधानभन्दा माथि कोही पनि नहुने सिद्धान्तप्रति जसपा नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको विज्ञप्तिमा भनिएको छ।
पार्टीले पूर्वमन्त्री राईले कुनै पनि विवादित घटनामा हस्तक्षेप गरेको वा अनुसन्धान प्रभावित पार्ने उद्देश्यले दबाब दिएको भन्ने दाबी असत्य भएको जनाएको छ। साथै, प्रहरी प्रशासनले कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप बिना स्वतन्त्र, निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न पाउनुपर्नेमा पार्टीको स्पष्ट धारणा रहेको उल्लेख गरिएको छ।
जसपाले अपुष्ट र तथ्यहीन समाचार प्रकाशन तथा प्रसारणले समाजमा भ्रम, असन्तोष र अस्थिरता फैलिन सक्ने खतरा औंल्याउँदै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार हुन आग्रह गरेको छ। सूचना सार्वजनिक गर्नु अघि त्यसको सत्यता पुष्टि गर्नु पत्रकारिता तथा नागरिक दुवैको नैतिक दायित्व भएको पार्टीको भनाइ छ।
पार्टीले यस्ता निराधार आरोपहरूले लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनाउने र सार्वजनिक विश्वासमा आँच पुर्याउने भन्दै सरकार, सञ्चारमाध्यम तथा आम नागरिकलाई अफवाहको पछि नलाग्न अपिल गरेको छ। साथै, सत्य, न्याय र लोकतान्त्रिक अभ्यासको पक्षमा आफूहरू सदैव प्रतिबद्ध रहने जनाएको छ











