(बर्दिया )
बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा भवनहरू नगरप्रमुख र किशोरीको संयुक्त सहभागितामा उद्घाटन गरिएको छ।कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) को आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरण परियोजना अन्तर्गत ती भवनहरू निर्माण गरिएको हो।
मधुवन नगरपालिकाको वडा नं. १ स्थित सूर्यपटुवा स्वास्थ्य चौकी र गुलरिया नगरपालिकाको वडा नं. ९ स्थित मथुराहरद्वार स्वास्थ्य चौकीमा निर्माण गरिएका भवनहरू मिति २०८२ पौष ४ गते एक कार्यक्रमका बीच उद्घाटन तथा हस्तान्तरण गरिएको हो।
मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष मिनबहादुर थापाको अध्यक्षतामा नगरप्रमुख तेजबहादुर भाट प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख अनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, नगर प्रवक्ता मेकबहादुर गुरुङ, प्लान इन्टरनेशनल नेपालकी निर्देशक जुली गुरुङ, पश्चिम क्षेत्रीय प्रबन्धक मिना पराजुली, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, सचिव युवराज श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख गीता घिमिरेलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी गुलरिया नगरपालिकामा वडा नं. ९ का वडा अध्यक्षको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख मुक्तिनाथ यादव प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सतिश यादव, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायणप्रसाद चौधरी, प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय किशोर–किशोरी तथा समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो।
भवन उद्घाटन स्वयं सेवा उपभोग गर्ने किशोरीहरुकै हातबाट गरिएको थियो। मधुवनमा किशोरी विद्यार्थी पार्वतीले नगरप्रमुख तेजबहादुर भाट र प्लान इन्टरनेशनल नेपालकी निर्देशक जुली गुरुङसँग संयुक्त रूपमा रिबन काटेर उद्घाटन गर्नुभएको थियो भने गुलरियामा किशोरी विद्यार्थी नन्दनी यादवले नगरप्रमुख मुक्तिनाथ यादव र निर्देशक जुली गुरुङसँग उद्घाटन गर्नुभएको हो।

कार्यक्रममा बोल्दै मधुवन नगरप्रमुख तेजबहादुर भाटले किशोर–किशोरीको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन भवनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले समस्या लुकाउनुभन्दा समयमै स्वास्थ्य संस्थामा आएर परामर्श लिन आग्रह गर्दै सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो। गुलरिया नगरप्रमुख मुक्तिनाथ यादवले मधेशी समुदाय अझै पछाडि परेको उल्लेख गर्दै किशोर–किशोरीलाई सेवा लिन प्रोत्साहित गर्ने वातावरण सिर्जना गर्न सबै तहबाट पहल आवश्यक रहेको बताउनुभयो।
परियोजना संयोजक सुरज अर्यालका अनुसार यी भवनहरू किशोर–किशोरीको गोपनीयता सुनिश्चित गर्दै गुणस्तरीय परामर्श, आरामदायी प्रतीक्षालय, सूचना–शिक्षा–सञ्चार सामग्रीमार्फत जनचेतना तथा तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको हो। अपर्याप्त पूर्वाधारका कारण सेवा प्रवाहमा आएको समस्या समाधान गर्ने लक्ष्य समेत परियोजनाको रहेको उहाले जानकारी दिनुभयो।
प्लान इन्टरनेशनल नेपालकी निर्देशक जुली गुरुङले नयाँ भवनबाट धेरै किशोर–किशोरीले आत्मसम्मान र गोपनीयतासहित सेवा लिन पाउने विश्वास व्यक्त गर्नुभयो। किशोरी पार्वतीले विद्यालय नजिकै सेवा केन्द्र भएकाले सेवा लिन सहज हुने र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या निडर भई राख्न सुरक्षित स्थान आवश्यक रहेको बताउनुभयो।
यी भवनमार्फत मधुवन नगरपालिकाका वडा नं. १ र २ तथा गुलरिया नगरपालिकाका वडा नं. ८, ९ र १० का किशोर–किशोरीलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। सूर्यपटुवा स्वास्थ्य चौकी भवन निर्माणमा रु. ४३ लाख ५६ हजार ३८०.६२ र मथुराहरद्वार स्वास्थ्य चौकी भवन निर्माणमा रु. ४५ लाख २७ हजार ८०३.९४ खर्च भएको छ। साथै दुवै स्वास्थ्य चौकीलाई रु. ८ लाख १७ हजार बराबरको आवश्यक स्वास्थ्य सामग्रीसमेत सहयोग गरिएको छ।












