बाँकेको खजुरा गाउँपालिकाले बाली विशेष पकेट कार्यक्रमलाई केन्द्रमा राख्दै कृषकहरूलाई कृषि यान्त्रीकरण सामग्री वितरण गरेको छ। उत्पादनमा आत्मनिर्भरता, रोजगारी सिर्जना र प्रविधिमैत्री कृषि अभ्यासको विस्तार गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमलाई स्थानीय सरकारको प्राथमिक कार्यक्रमका रूपमा लिइएको छ ।
गाउँपालिकाका कृषि शाखा प्रमुख भगवती खड्काका अनुसार, समवेधनशील अध्ययनको आधारमा खजुराका सबै आठ वडालाई विशिष्ट बाली उत्पादनका लागि ‘पकेट क्षेत्र’ घोषणा गरिएको हो । खजुरा गाउँपालिका वडा नं १ मा बेसार, वडा २ मा टमाटर, वडा ३ मा काँक्रो र अन्य तरकारी, वडा ४ मा च्याउ र धान, वडा ५ र ६ मा धनिया र विविध तरकारी, वडा ७ मा लसुन र प्याज तथा वडा ८ मा आलु उत्पादनलाई विशेष प्राथमिकतामा राखिएको छ ।
खडकाका अनुसार, यी पकेट बालीहरूलाई निरन्तरता दिँदै कृषि पेशालाई व्यवस्थित बनाउने लक्ष्यका साथ गाउँपालिकाले कृषक समूह तथा दर्ता भएका फर्महरूलाई अनुदानमा कृषि यन्त्र सामाग्री वितरण गरेको हो । हालै सम्पन्न एक भेला मार्फत ५० जना कृषकमध्ये २५ जना ‘कृषक पाठशाला’का लागि छनोट गरिएको थियो । सोही आधारमा गाउँपालिका भित्रका ८ वटा कृषक समूहका करिब १५ वटा फर्मले मिनी टिलर, कालो पाइप र सिँचाइ उपकरणजस्ता कृषि यान्त्रीकरण सामग्री पाएका छन् ।
“पकेट प्रणालीमार्फत विशेष बालीको निरन्तरता, उत्पादन वृद्धिको स्थायित्व र कृषि रोजगारीमा विस्तार हाम्रो प्रमुख लक्ष्य हो,” खडकाले भनिन् । कृषकले ०८१÷०८२ को आर्थिक बर्षमा ८५ लाख बराबरको बजेट रहेकोमा १२ लाखमा ८ वटा कृषक पाठशाला छनोट गरिएको थियो । जसमध्ये २ विगहामा कृषि खेती गर्ने किसानलाई ३ लाख २५ हजार बराबरको सामाग्री वितरण गरिएको थियो । जसमा पावर टिलर, मिनि टिलर, डेलीभरी पाइप, फलामको पाइप लगायतका कृषकलाई चाहिने सामाग्री वितरण गरिएको थियो ।
स्थानीय तहको नेतृत्वमा प्रविधिको पहुँच गाउँस्तरसम्म पु¥याउने प्रयासका रूपमा हेर्ने हो भने, खजुराको यो कार्यक्रम कृषिमा यान्त्रीकरणको सफल अभ्यास बन्ने सम्भावना देखिएको छ । तर दीर्घकालीन प्रभावका लागि उत्पादनसँगै बजारीकरण, भण्डारण र मूल्य स्थायित्व जस्ता पक्षमा पनि एकसाथ ध्यान दिन आवश्यक देखिन्छ ।