४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार
राप्रपाकी चर्तीमगर ः उपमेयरकी हकदार
  • न्युज डेस्क

    २५ बैशाख २०७९, आईतवार

नेपालगन्ज
विगत तीन वर्ष अगाडिसम्म बाँकेमा पुष्प व्यवसायीको राम्रो सम्भावना छ भनेर भन्दा एउटा मजाको रुपमा लिने जमातको कमी थिएन् । भारतीय खुल्ला सीमा भएका कारण नेपालगन्जमा भित्रने फूलहरु भारतबाटै आउने गथ्र्यो ।
कसैले पनि सो समयमा बाँकेलाई पुष्प व्यवसायसँग जोड्न र फूल उत्पादन गर्ने सोचेकोे देखिएन् । बस त्यही समयमा हाल आफूलाई सफल व्यवसायीका रुपमा चिनाउन सफल विन्दु चर्तीमगरले बाँकेलाई पुष्प व्यवसायसँग जोड्न पुलको काम गरिन् ।
फूल उत्पादनमा शून्य रहेको बाँकेमा उनले नेपालगन्जलाई केन्द्रविन्दु बनाएर काम गर्न सुरु गरेकी थिइन् । तर पनि पुष्पखेतीको सम्भावनाका विषयमा सरकारी र गैरसरकारी कुनै पनि संस्थाको ध्यान अहिलेसम्म दिएको देखिँदैन ।
हाल विन्दूले फूलको बजारीकरणका लागि नेपालगन्जमै एकमात्र फूल बिक्री केन्द्र संचालनमा ल्याइन्, ‘चर्ती फ्लोरा’ का नाममा । उनले नेपालगन्जमा चर्ती फ्लोरा सुरु गर्न गरेको संघर्ष आफैंमा प्रेरणादायी छ ।
एक महिला भएर नेपालगन्जदेखि पोखरा, काठमाडौं जस्ता सहरमा गएर पुष्प विषयमा अध्ययन, तालिम, सम्भाव्यताको खोजीलगायतका विषयमा विन्दूले एक वर्ष बढी खर्चेकी थिइन् ।
विन्दू कसरी सफल उद्यमी भइन त ?
बुबाले सुरु गरेको चाउमिन उद्योगलाई अघि बढाएर व्यापारिक अनुभव र संस्कार हासिल गरेकी बिन्दु अहिले नेपालगन्जमा सफल पुष्प व्यवसायीको रुपमा स्थापित भएकी छिन् । आफ्नो सफलतालाई उनले विशेषगरी महिलाहरुलाई व्यवसायमा आउन उत्प्रेरणा गर्ने काममा उपयोग गरिरहेकी छिन् ।
बिन्दुका बुबाले २०३६ सालमा चितवनबाट चाउमिन उद्योग संचालन गरी व्यवसायिक यात्रा सुरु गरेका थिए । त्यसलाई पश्चिम भेगमा फैलाउने क्रममा २०५० सालमा नेपालगन्जमा उद्योग खोलियो । त्यसपछि महेन्द्रनगर, धनगढीमा बिन्दु र उनका दाजुले उद्योगकोे बजार बिस्तार गदैँ लगेँ । जुन बजार अहिले पनि स्थापित छ ।
त्यतिबेला चाउमिन नेपाली उपभोक्ताहरु माझ परिचित थिएन । चाउमिन खाने तरिका नै धेरैलाई थाहा थिएन । मगरको परिवारले होटल, रेस्टुरेन्ट, ठेलाहरुमा आफंै पुगेर पकाउने र खाने तरिका सिकाए । मसिलाहरुलाई चाउमिन बनाउने मेसिन, स्रोत साधन जुटाएर हाल पश्चिम क्षेत्रमै १०÷१२ वटा चाउमिन उद्योगको शाखाहरु संचालनमा ल्याए । नेपालगन्जको राँझामा मगरको बुद्ध चाउमित तथा सस उद्योग अहिले पनि संचालनमा छ ।
बिन्दु सानैदेखि फूल भनेपछि हुरुक्कै हुन्थिन् । उनमा फूलकै व्यापार गर्न पाए गजब हुन्थ्यो भन्ने विचार सानैदेखि विकास हुँदै आएको थियो । व्यवसायका क्रममा उनले बुझिन् मध्य र सुदूरपश्चिाममा फूलको धेरै माग छ । तर उत्पादन पनि भइरहेको थिएन । फूलको राम्रो बिक्री केन्द्र वा पसल पनि थिएन । व्यवसायिक अनुभव र संस्कार आर्जन गरिसकेकी बिन्दुलाई लाग्यो ‘अब आफ्नो रुचीको वस्तुको व्यापार नै सुरु गर्छु ।’
‘मलाई सानैदेखि फूलमा धेरै लगाभ भएका कारण होला नेपालगन्जको बजार हेर्दा फूलबाटै आर्थिक आयआर्जन गर्न सकिन्छ जस्तो लाग्यो । अनि पुष्प खेती गर्ने सोचका साथ अगाडि बढेँ,’ मगरले भनिन् ।
त्यसपछि २०७०÷७१ सालमा उनले व्यवसायिक योजनाका लागि बजार अनुसन्धान गरिन् । २०७२ सालमा काठमाडौ गएर आवश्यक सीप सिकिन् । त्यसपछि बुटवलमा पनि तालिम लिने अवसर पाइन् । अनि ढेड लाखको लगानीमा फूल उत्पादन सुरु गरिन् ।
मगरले भनिन्, ‘जब मैले पुष्पखेतीको सोच बनाएर अगाडि बढेँ । त्यतीखेर पुष्पखेतीका लागि भनेर कुनैपनि कार्यक्रम बाँकेमा थिएन । यहाँसम्मकी पृष्पखेतीका लागि सरकारी निकायसँग पनि कुनै योजनानै थिएन ।’
नेपालगन्ज–२० स्थित आफ्नै घरछेउमा ६ कठ्ठा जमिनमा फूल खेती गरेर सुरु गरेकी उनले हाल दुई बिघा जमिनका खेती गरिरहेकी छिन् । बैंकको ऋणसमेत गरेर हाल करिब ६० लाख फूल खेतीमै उनले लगानी गरेकी छन् ।
सुरुवातमा उनले सयपत्रीको खेतीबाट सुरु गरेकी थिइन् । हाल गोदावरी, ग्लाडियस र मखमली फूल उत्पादन गरिरहेकी छन् ।
यस सिजनमा गुलाब, सयपत्र, मखमलीको माग बढी छ । उनको बिक्री केन्द्रबाट फूल र फूल सजावटका सबै सामग्री र सेवाहरु प्रदान गर्ने गरिन्छ ।
हाल उनको चर्ती फ्लोरा बाँकेको एकमात्र फूल बिक्री केन्द्र पनि हो । एक वर्ष अगाडि प्रदेश सरकारले जिल्लाको फूल बिक्री केन्द्रको रुपमा उनलाई स्वीकृत गरेको थियो । केन्द्रबाट उनले बाँके जिल्ला बाहिरका पाल्पा, रुपन्देही, दाङ, काठमाडौं र आवश्यक परेको खण्डमा भारतबाट फूल आयात गरी बिक्री गर्ने गर्छिन् ।
मेरो पहिलो प्राथमिकता भनेको नेपालकै उत्पादन हो । किनभने नेपालमा उत्पादन भएका सबै फूल अर्गानिक हुन्छन् । भारतका फूललाई म अन्तिम विकल्पका रुपमा मात्र प्रयोग गर्ने गर्छु,’ मगरले भनिन् ।
मगर हाल बाँकेमा ३ हेक्टर क्षेत्रफलमा दशैं र तिहारलाई लक्षित गरेर पुष्पखेती गरेको बताउँछिन् । उनले विगतका तुलनामा जिल्लामा पुष्पखेती बढ्दै गएको बताइन् । उनले भनिन्, ‘अहिले सबै दिदी बहिनीहरुको मिलाएर ३ हेक्टरमा फूल खेती भइरहेको छ । तर यो पनि कम हो । किनभने दशै तिहारमा लगभग २० क्वीन्टल जति फूल बिक्री हुन्छ । त्यो सबै हामीले उत्पादन गर्न सक्दैनौं । तर हरेक वर्ष फूल खेती गरिने एरिया बढ्दो छ । हामी आत्मनिर्भरताको बाटोमा अघि बढ्दै छौं ।’
व्यवसायी नेतृत्वमा पनि अघि
बिन्दु व्यवसायमा मात्रै नभई व्यवसायिक नेतृत्वमा पनि अघि छिन् । उनी हाल नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य हुन् भने पुष्प व्यवसायी संघ लुम्बिनी प्रदेशको उपाध्यक्ष छिन् । व्यवसायिकसँगै सामाजिक क्षेत्रमा पनि चर्तीको सक्रियता उत्तिकै छ ।
बिन्दु आफ्नो लक्ष्य महिलाहरुलाई पुष्प खेतीबाटै आत्र्मनिर्भर गराउनु रहेको बताउँछिन् । उनले समय–समयमा फूल खेतीसम्बन्धी तालिम पनि प्रदान गर्दै आएकी छन् । उनीबाट तालिम लिएका १० जना मध्ये ६ जनाले फूल खेती सुरु गरिसकेका छन् । अर्को सिजनसम्म तालिम लिएका सबैले व्यवसायीक खेती सुरु गरिसक्ने उनी बताउँछिन् ।                                                                 
फूल व्यवसायका लागि मात्रै नभै वातावरण र पर्यापर्यटकीय दृष्टिकोणले महत्वपूणर् रहेको बिन्दुको भनाइ छ । बिन्दुका श्रीमान सुनिल सलामी मगर सरकारले पुष्प खेतीको महत्व र आवश्यकताअनुसार प्रवद्र्धनमा ध्यान दिन नसकेको बताउँछन् । आवश्यक ज्ञान, सीप, लगानी र बजारको सुनिश्चितता महसुस गराउन सक्ने हो भने फूल खेतीमा धेरै किसानहरु व्यवसायिक बन्न सक्ने उनको धारणा छ ।

 

  • २५ बैशाख २०७९, आईतवार प्रकाशित
  • Nabintech