२५ जेष्ठ २०८२, आईतवार
२५ जेष्ठ २०८२, आईतवार
बाँके–३ मा सत्तागठबन्धनलाई पछार्दै किस्मत कक्षपति
  • न्युज डेस्क

    १ मंसिर २०७९, बिहीबार

नेपालगन्ज,१ मङ्सिर–बाँके निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले जितको आधार तय गरेका छन् ।

क्षेत्र नं. ३ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आन्तरिक कलहका कारण एमालेको निर्वाचन माहोल दैनिक रुपमा राम्रो बन्दै गएको छ ।
बर्दियाबाट आएर बाँके–३ मा उम्मेदवारी दिएका किस्मतका प्रतिद्वन्द्वी उम्मेदवार नेपाली कांग्रेसका किशोरसिंह राठौरले टुरिष्ट उम्मेदवारको उपमा पाईरहेका बेला स्थानीयको बलसहित बाँके ३ मा राप्रपाले समेत सघाउने भएपछि किस्मतको चुनावी चर्चा दैनिक रुपमा उकालो लागिरहेको छ ।

किस्मत कक्षपतिको नेतृत्वमा जव बाँकेको खजुरामा क्यान्सर अस्पताल संचालनमा आयो, तव देखि नै आम नागरिकमा किस्मतको राजनीतिले उँचाई लिन पुग्यो । बाँके र बर्दियाका स्थानीयको मुठ्ठीदानबाट ठडिएको अस्पताल निर्माण र संचालनमा कक्षपतिले देखाएको नेतृत्व क्षमता नै कक्षपतिका लागि राजनीतिको प्रमुख पुंजी बन्न पुग्यो । सोही पुँजीबाट उनी २०७४ सालको स्थानीय चुनावमा खजुरा गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित भए।
गाउँपालिका अध्यक्ष बनेका किस्मतले ५ वर्षमा आफ्नो पहिचान खजुराको समग्र विकासको लागि एउटा किस्मत बनेर देखाए । संघीयताको पहिलो प्रयोग अनुरुप पालिका अध्यक्ष बनेका किस्मतले खजुरालाई स्वायत्त पालिका बनाउन महत्वपूर्ण भूमिका खेले ।खजुरालाई विश्व समुदायका सामु जोड्दै किस्मतकै अगुवाईमा खजुरामा ग्रीन सिटीको प्रोजेक्ट भित्रिएको छ । कक्षपति यस्ता नेताकारुपमा परिचित छन् जसलाई कुनै जिम्मेवारी दिने हो भनेर जसरी पनि त्यसलाई फत्ते गरेरै छाड्छन् ।
प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेका कक्षपतिको ग्रीन सिटीको प्रोजेक्टलाई खजुरा, जानकी, बैजनाथ हुँदै जिल्लाभर लागू गर्ने चाहना छ । उनी जुन काममा लाग्छन् त्यो सफल बनाएर छोड्ने किस्मतको बानी रहेको उनलाई नजिकबाट चिन्नेहरुले भन्ने गर्दछन् । खजुरा गाउँपालिकामा हुँदा ग्रीन सिटी, प्रदेश विश्वविद्यालय, १५ वेडको अस्पताल, शीत भण्डार, औद्योगिक ग्रामलगायतको ठूला आयोजना भित्र्याउन उनको प्रमुख भूमिका छ ।
घरबारविहीनलाई घर बनाएर हस्तान्तरण, शिक्षामा ३१ बुंदे प्रतिबद्धतासहित सुधार, सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, कृषियन्त्र वितरण, खेलकुदमा मिनीरंगशाला, खेलकुद ग्रामको स्तरोन्नति, हरेक वर्ष रनिङ शिल्ड प्रतियोगिता, शैक्षिक महोत्सव, गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरु, १५ वर्षे योजना निर्माण, सभाहल निर्माण ३ हजार महिलालाई सहकारीमा आवद्ध, सिलाइ कटाईमार्फत ४० महिलालाई नियमित रोजगारी, युवाका लागि स्वरोजगार कार्यक्रम र ८० जना युवाहरूलाई ४० हजार टोकन मनि हस्तान्तरण सीपमूलक तालिम लगायतका धेरै कुरा छोटो अवधिमा गर्नु उनको खुवी हो ।
बृहद खजुरा सम्मेलनमार्फत खजुराको खाका कोर्नु, पूर्ण खोप घोषणा, साक्षर घोषणा र वालविवाह मुक्त खजुरा पनि उनकै कार्यकालमा भयो । खरो स्वभाव भएका कक्षपतिले काम गरेपनि जस लिन नजान्ने नेतामा गनिन्छन् । चुनावमा होमिएका कक्षपतिले काम गर्नकै लागि आफ्नो उम्मेदवारी भएको र जनताको शीर कहिले निहुरिन नदिने प्रण गर्दै हिँडेका छन् । दिएको जिम्मा जसरीपनि पुरा गरेरै छाड्ने उनको विषेशषता भएको पनि उनको पहिचान बनेको छ । आफ्नो कार्यकालामा सबै कार्मचारीसँग समान व्यवहार राख्नुले पनि उनको व्यवहार प्रष्ट हुन्छ ।

नेकपा एमाले बाँकेका अध्यक्ष समेत रहेका कक्षपतिले विकासका एजेन्डामा राजनीतिभन्दा माथि उठेर साझा एजेण्डाको रूपमा काम गर्नु पर्ने बताउँदै आएका छन् । जनतामाझ जाँदा उत्साहित रहेको बताउँदै कक्षपतिले मंसिर ४ मा जनमतबाट अनुमोदन हुनेमा विश्वस्त रहेकोे बताए ।
कांग्रेसले क्षेत्र नम्बर ३ बासीलाई उम्मेदवार बनाउन नसक्नु, माओवादी भित्र ठुलो विवाद कायम रहनु र पालिकामा रहँदा आफुले गरेका कामको प्रभावकारी प्रचार गर्न सकेमा किस्मतको किस्मत चम्कने निश्चित छ ।

सत्ता गठबन्धनमा प्रदेश क मा आफ्नै उम्मेदवार आईपी खरेलविरुद्ध माओवादीले दलबहादुर सुनारलाई आधिकारिक उम्मेदवार बनाएपछि माओवादीभित्र ठूलो लडाई रहेको छ भने प्रतिनिधिसभामा बर्दियाका नेता किशोरसिंह राठौरलाई बाँकेमा टिकट दिएको र प्रदेश ख मा विवादित व्यक्ति बादशाह कुर्मीलाई उम्मेदवार बनाएकोमा कांग्रेसभित्र ठूलो असन्तुष्टि रहेको छ। माओवादी उम्मेदवार हराउन माओवादी र कांग्रेस उम्मेदवार हराउन कांग्रेसनै लागिरहेकोले क्षेत्र नं. ३ मा एमालेका तीनैजना उम्मेदवार विजयको नजिक रहनुभएको छ ।

  • १ मंसिर २०७९, बिहीबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२