१६ आश्विन २०८०, मंगलवार
१६ आश्विन २०८०, मंगलवार
रेखालाई लक्षित गर्दै कुन्तीले फिल्म खेल्नजस्तो राजनीति सहज छैन भनेपछि दीपकराज गिरीको चुनौती
  • न्युज डेस्क

    १८ मंसिर २०७८, शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ।

नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ। राप्रपामा महामन्त्रीमा अभिनेत्री रेखा थापाले पनि उम्मेदवारी दिएकी छन्। महामन्त्रीमा रेखा थापा र कुन्ती शाहीको भिडन्त हुँदैछ।

यसैक्रममा शुक्रबार उम्मेदवारी दर्तापछि रेखालाई लक्षित गर्दै कुन्ती शाहीले फिल्म खेलेजस्तो राजनीति सहज नभएको बताएकी थिइन्।

उनले भनकी थिइन्, ‘उहाँ असाध्यै भ्रममा, राजनीति नै थाहा छैन विचरा, राजनीति भन्ने कुरा अब थाहा पाउनु हुन्छ।’

उनले रेखालाई जनताका माझमा जान पनि आग्रह गरेकी थिइन्।

‘चुनाव आउँदैछ जनताको माझमा जानुस्। फिल्म खेल्नजस्तो सहज राजनीतिमा हुँदैन,’ उनले भनेकी थिइन्।

यही भनाइलाई लिएर कलाकार दीपकराज गिरीले आपत्ति जनाएका छन्। उनले कुन्तीलाई एकपटक फिल्म क्षेत्रमा ‘ट्राई’ गरेर देखाउन चुनौती दिएका छन्।

उनले भनेका छन्, ‘कसले भन्यो तपाईंलाई फिल्म खेल्न सजिलो छ भनेर, एकचोटि ट्राई गरेर हेर्नुहुन्छ ? क्यामरा अगाडि तपाईंको पसिना छुट्ने छ।’

संसारका सबै काम आ- आफ्नो ठाउँमा गाह्रो हुने भन्दै सबै कामलाई सम्मान गर्न उनले आग्रह गरे।

‘संसारका सबै काम आ- आफ्नो ठाउँमा गाह्रै नै हुन्छ’, सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्,‘त्यसैले कुनै पेसालाई सजिलो ठान्ने काम नगरौं।’

  • १८ मंसिर २०७८, शनिबार प्रकाशित
  • Nabintech