८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
‘मिर्जापुर’ का ललितको निधन, बाथरुममा भेटियो शव
  • न्युज डेस्क

    १६ मंसिर २०७८, बिहीबार

सन् २०१८ को अमेजन प्राइमको वेब सिरिज ‘मिर्जापुर’ ले धेरै दर्शकको मन जितेको थियो। यो क्राइम सिरिजमा पंकज त्रिपाठी, श्वेता त्रिपाठी, दिव्येन्दु शर्मा, अली फजललगायत कलाकारको मुख्य अभिनय रहेको थियो। सिरिजमा ब्रह्मा मिश्रा मुन्ना भैया (दिव्येन्दु शर्मा) को मुख्य सहायक ललित पात्रका रुपमा देखिएका थिए। दुबै शृंखलामा उनको भूमिकालाई दर्शकले मन पराएका थिए।

ललितका रुपमा चर्चा कमाएका उनै कलाकार मिश्राको बिहिबार निधन भएको छ। उनको ३६ वर्षको उमेरमा असामयिक निधन भएको हो। इन्डिया टुडेका अनुसार बिहिबार प्रहरीले मिश्राको वर्सोवास्थित घरको बाथरूममा उनको लास सढेको अवस्थामा फेला पारेको हो। खबरअनुसार मिश्राको घरबाट दुर्गन्ध आएको गुनासो गरेपछि उनका छिमेकीले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घटनास्थल पुग्दा उनको घरमा भित्रबाट ताला लगाइएको थियो। डुप्लिकेट चाबी बनाउन ताला बनाउनेलाई बोलाएर पसेपछि प्रहरीले बाथरुमबाट दुर्गन्ध आइरहेको थाहा पाए। बाथरुमको ढोका खोल्दा मिश्राको शव अर्ध कुहिएको अवस्थामा फेला परेको थियो।

इन्डिया टुडेका अनुसार प्रहरीले मिश्राका भाइ सन्दिपको बयानका आधारमा आकस्मिक मृत्युको उजुरी दर्ता गरेको छ। खबर अनुसार उनी केही दिनअघि छाती दुखेपछि उपचारका लागि डाक्टरकहाँ गएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। अभिनेताको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।

कलाकार मिश्राको निधनपछि मिर्जापुरमा काम गर्ने कलाकारलगायत बलिउड कलाकारहरुले उनको आकस्मिक निधनप्रति शोक व्यक्त गरेका छन्।

मिश्राले ‘माझी : द माउन्टेन’, ‘केशरी’ लगायत फिल्ममा अभिनय गरेका छन्।

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित
  • Nabintech