१३ मंसिर २०७९, मंगलवार
१३ मंसिर २०७९, मंगलवार
पर्यटन बोर्डको बजेट : हिप्पी ट्रेल खोज्ने, आरोहीलाई सम्मान गर्ने
  • अनलाइन खबर

    १८ मंसिर २०७८, शनिबार

नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०७८/७९ मा कुल २ लाख २५ हजार पर्यटक आउने प्रक्षेपण गर्दै बजेट निर्माण गरेको छ ।

बोर्डले यस आवमा गर्ने गतिविधिका लागि कुल ९२ करोड १८ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयनमा ल्याएको हो । यो रकम गत आर्थिक वर्षमा प्रक्षेपित बजेटको तुलनामा ११ करोड ४७ लाख रुपैयाँ बढी हो । तर, यथार्थ खर्चको तुलनामा भने ४१ करोड ३९ लाख रुपैयाँ बढी हो ।

बोर्डले आर्थिक वर्ष २०७७/७८ मा ८० करोड ७१ लाखको बजेट ल्याएकोमा खर्च भने मात्र ५० करोड ७९ लाख गर्न सकेको थियो ।

खर्च व्यहोर्ने स्रोतमध्ये चालु आर्थिक वर्ष २०७८/७९ भित्र पर्यटक आगमन २ लाख २५ हजार जना पुग्ने प्रक्षेपणसहित नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षमा सबैभन्दा बढी आम्दानी पर्यटन सेवा शुल्क वापतको रकमबाट हुने अनुमान गरेको छ । यस वर्ष प्रक्षेपण गरिएको २ लाख २५ हजार पर्यटकबाट उनीहरु नेपालबाट प्रस्थान गर्दा हवाई टिकटमा उठाइने प्रतियात्रु १ हजार रुपैयाँबाट कुल २२ करोड ५० लाख रुपैयाँ आम्दानी हुने छ ।

यो वर्षबाट पर्वतीय पर्यटनको क्षेत्रमा योगदान पुर्याउनेहरुलाई बोर्डले सम्मान गर्ने भएको छ । यसमा आरोहीसमेत पर्न सक्ने छन् । उनीहरुलाई हिलारी, तेन्जिङ, पासाङल्हामु, पार्कयोङजस्ता नाममा मेडल स्थापना गरी सम्मान गरिने भएको छ ।

बोर्डको खातामा खर्च नभई बचेको रकमलाई समेत आम्दानी मानेर यो वर्ष बजेट बनाइएको छ । यस्तो संचित रकम ३६ अर्ब ९१ लाख रुपैयाँ रहेको छ । यसबाट पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड)को बिक्रीबाट हुने आम्दानी तथा अन्तर्राष्ट्रिय मेलामा भाग लिँदा निजी क्षेत्रबाट लिइने शुल्कलाई समेत बोर्डले आम्दानीमा जोडेको छ ।

कुन प्रयोजनमा कति खर्च ?

बोर्डले पर्यटन बजार व्यवस्थापन तथा प्रवर्द्धमा १४ करोड ४१ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । यसमा अन्तर्राष्ट्रिय मेला तथा महोत्सवमा सहभागी हुँदा गर्ने खर्च हो । जनसम्पर्क तथा प्रचारप्रसारको काममा भने ४ करोड ३७ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिइएको छ । यसमा प्रवर्द्धनात्मक सामग्री उत्पादन, वितरण, डिजिटल माध्यमबाट प्रवद्र्धन, संकट व्यवस्थापन तथा परिचयात्मक भ्रमणमा हुने खर्च समेत समेटिन्छ । अनुसन्धान, योजना तथा अनुगमनमा बोर्डले यो वर्ष ६ करोड ४ लाख खर्च गर्ने लक्ष्य राखेको छ । यसमा पर्यटनसँग सम्बन्धित अध्ययन/अनुसन्धान, योजना निर्माण, तथ्यांक विश्लेषणसहितका कार्यक्रममा खर्च हुन्छ ।

पर्यटन सम्पदा तथा संशाधन विकासमा ७ करोड ३८ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य छ । यसमा पर्यटन सम्पदा विकास, उत्सव, महोत्सव आयोजना, पर्यटन क्षमता विकास तथा दिगो पर्यटन विकास सम्बन्धित कार्यक्रम रहेको छ ।

बोर्डको पोखरा क्षेत्रीय कार्यालय पोखराले ४ करोड ५० लाख रुपैयाँ खर्च गर्ने भएको छ । यसमा प्रवर्द्धन, सम्पदा विकास र जनशक्ति विकाससहितका कार्यक्रम समेटिएको छ । कार्यकारी समिति र बोर्डका सीइओको कार्यालयले भने १ करोड १६ लाख रुपैयाँ खर्च गर्न अनुमति पाएको छ ।

कर्मचारीको सेवा सुविधा, कार्यालय संचालन र पुँजीगत खर्चका काममा भने १८ करोड ६६ लाख रुपैयाँ तोकिएको छ । प्रादेशिक कार्यालय र सूचना केन्द्रका लागि १ करोड ५० लाख र बोर्डले बनाउने अनलाइन बजार प्रणालीको सम्भाब्यता अध्ययन गर्न २ करोड बजेट राखिएको छ । यूएनडीपीको सहकार्यमा जारी परियोजनामा ७ करोड ८ लाख र टिम्स खाताबाट हुने खर्चका कार्यक्रममा २१ करोड ६५ लाख रुपैयाँ बजेट राखिएको छ ।

कस्ता कस्ता गतिविधि हुनेछन् ?

बोर्डले हरेक वर्ष सहभागिता जनाउने गरेका अन्तर्राष्ट्रिय मेला तथा महोत्सवको सहभागितालाई यो वर्ष पनि बजेटमा राखेको छ । यसमा आइटीबी (बर्लिन)देखि विश्व पर्यटन मेला लण्डनसम्म नेपालको सहभागिता जनाउने उल्लेख छ ।

अमेरिकी र यूरोपका विभिन्न शहरमा नेपाली दूतावास, महावाणिज्य दूतावास, गैरआवासीय नेपालीसहितको सहभागितामा व्यापार प्रवर्द्धनको योजना बोर्डले राखेको छ । यस्तो कार्यक्रम नेपालको सिधा हवाई सेवा जोडिएका र सम्भावित पर्यटन बजारमा हुने भएको छ । सो क्रममा सम्बन्धित वायुसेवा कम्पनीसँग सहकार्यको लक्ष्य बोर्डको छ ।

भारत र चीनमा समेत प्राथमिकताका साथ पर्यटन मेला तथा प्रदर्शनीमा भाग लिने बोर्डले जनाएको छ । निजी क्षेत्रसँग सहकार्य गरी प्याकेज बनाउने र त्यसलाई अन्तर्राष्ट्रिय बजारमा बेच्ने लक्ष्य बोर्डले राखेको छ ।

रिकभरी क्याम्पेन चलाइने

कोभिड १९ को प्रभाव कम गर्दै पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन रिकभरी क्याम्पेनको योजना समेत बोर्डले बनाएको छ ।

पर्यटकीय ब्राण्ड स्थापित गर्न निजी क्षेत्र तथा सरोकारवालासँग समन्वय गरिने बजेटमा उल्लेख छ । गन्तव्य ब्राण्डिङका लागि यो वर्ष टोखालाई छानिएको छ ।

स्थानीय तहसँगको समन्वयमा म्याग्दी, पर्वत, बागलुङ, गुल्मी, स्याङ्जा, तनहुँ, कास्की, गोरखा, धादिङ, अर्घाखाँची, नुवाकोट, काभ्रेसहितका क्षेत्रमा नमुना गाउँ छनोट गरी कृषि गन्तब्यका रुपमा प्रवर्द्धन गर्ने बोर्डले जनाएको छ ।

यो वर्ष बोर्डले काठमाडौंमा पर्यटक बसपार्क बनाउन अध्ययन र योजना बनाउने बजेट राखेको छ ।

पर्वतीय क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गरिने

यो वर्षबाट पर्वतीय पर्यटनको क्षेत्रमा योगदान पुर्याउनेहरुलाई बोर्डले सम्मान गर्ने भएको छ । यसमा आरोहीसमेत पर्न सक्ने छन् । उनीहरुलाई हिलारी, तेन्जिङ, पासाङल्हामु, पार्कयोङजस्ता नाममा मेडल स्थापना गरी सम्मान गरिने भएको छ ।

साथै नेपालमा धेरै पर्यटक भित्राउने पर्यटन व्यवसायीलाई समेत सम्मान गरिने भएको छ । नेपालको चुरे र आसपासको क्षेत्रमा जीओ टुरिजमको सम्भाव्यता अध्ययन, नेपाल र भारतको सीमा क्षेत्रमा धार्मिक पर्यटनको सम्भाबनाबारे अध्ययनको योजना समेत बजेटमा समेटिएको छ । नेपाली सेनासँगको समन्वयमा ऐतिहासिक पर्यटन विकास र प्रवर्द्धनको कार्यक्रम राखिएको छ ।

हिप्पी र राणा ट्रेलको खोजी

काठमाडौंको चर्चित तर अहिले लोप भइसकेको हिप्पी ट्रेललाई खोजी गरी व्युँताउने गरी बोर्डले कार्यक्रम राखेको छ । यसमा हिप्पी ट्रेल र राणा ट्रेलको पर्यटकीय सम्भावनाको खोजी गर्ने भनी कार्यक्रम बजेटमा समेटिएको छ ।

पर्यटकीय क्षेत्रमा रहेको तातोपानीका कुण्ड तथा झरनाहरुमा हुने स्नानबाट हुने स्वास्थ्य लाभको पहिचान गर्न समेत थप अध्ययन गर्न बजेट राखिएको छ । टुर डी लुम्बिनी आयोजना गर्न साइक्लिङ मार्ग र पाल्पाको रानीमहल क्षेत्रमा पर्यापर्यटनको खोजी गर्न बजेट राखिएको छ ।

काठमाडौंमा पर्यटक बसपार्क बनाउने योजना

काठमाडौंमा पर्यटक बसपार्क नहुँदा जमलको सडकबाट पर्यटकले बस चढ्नुपर्छ । यो वर्ष बोर्डले काठमाडौंमा पर्यटक बसपार्क बनाउन अध्ययन र योजना बनाउने बजेट राखेको छ । स्थानीय तहबाट सहकार्यको प्रस्ताव आएमा त्यसमा समेत काम गर्ने गरी बजेट राखिएको छ । एक गाउँ एक पर्यटन उपज तथा एक प्रदेश एक हिल स्टेशन बनाउन प्रदेश र स्थानीय तहसँग समन्वय गरिने भएको छ ।

प्रदेशहरुमा ट्राभल मार्ट आयोजना

यो वर्ष प्रदेश स्तरमा ट्राभल मार्टहरु आयोजना गरिने भएको छ । प्रदेश १ को धरान, विराटनगर वा बिर्तामोडमध्ये एक स्थानमा, प्रदेश २ को एक स्थानमा, लुम्बिनी प्रदेशको एक स्थान, कर्णाली प्रदेशको एक र सुदुरपश्चिम प्रदेशको एक स्थानमा यस्तो मार्ट आयोजनाको कार्यक्रम छ ।

गण्डकी प्रदेशबाहेकका ६ प्रदेशमा विशेष खाना महोत्सव, मिथिलामा प्रदेश २ सरकारसँग समन्वय गरी विशेष कार्यक्रम र भेडेटारमा क्यानोनिङ महोत्सव आयोजनाको लक्ष्य समेत बोर्डले राखेको छ ।

प्रदेश नं. १ लाई हेल्थ टुरिजमको हब बनाउने तथा प्रदेश १ र सुदूरपश्चिममा फार्मस्टेको अवधारणामा काम गरिने भएको छ ।

– अनलाइन खबर

  • १८ मंसिर २०७८, शनिबार प्रकाशित
  • Nabintech